
धरान: कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकार सदैव उद्योगी तथा व्यवसायीहरुको साथमा रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री कार्कीले सुनसरी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै नीजी क्षेत्रको सहयोगमा कोशी प्रदे्श सरकार सधै साथमा रहने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले बर्षौदेखिको धरानबासीको खानेपानीको समस्या समाधानका साथै व्यापारी व्यवसायीहरुको हकहितमा संगठित सुनसरी उद्योग वाणिज्य संघलाई सक्रिय बनाउँदै खस्किएको व्यवसायलाई माथि उकास्नका लागि सबै एक मत भएर कोशी प्रदेश सरकारलाई झकझक्याउन आएको खण्डमा प्रदेश सरकारले गर्न सक्ने क्षेत्राधिकारका काम प्रदेश सरकारले गर्ने र क्षेत्राधिकारभित्र नपर्ने काम प्रदेश सरकारकै अगुवाईमा केन्द्रीय सरकारसँग झक्झकउन पुग्ने काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले धरान लेउती सुरुङ्ग मार्ग सफल भएमा धरानको खानेपानी समस्या दीर्घकालिनरुपमा समाधान गर्न सकिने बताउदै यसका लागि निरन्तर पहल कदमी गर्नुपर्ने बताउनुभयो ।
यस्तै सुनसरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विजय श्रेष्ठले धरानको सुस्त व्यापार व्यवसायलाई चलायमान बनाउन आफूहरुको कार्यकालमा लगानी सम्मेलनदेखि लिएर विविध कार्यक्रम अगाडि बढाए पनि विगतको जस्तो चलायमान हुन नसकेको बताउनुभयो । उहाँले अहिले धरानका व्यापारी व्यवसायीहरु व्यवसाय नभएपछि अन्यत्र स्थानन्तर भएको बताउदै तीनै तहका सरकारले व्यवसायिक प्रवद्र्धनमा सहयोग पुग्ने खालका नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै निर्वाचन आयुक्त एवम् धरानका समाजसेवी प्रा.डा. राजेन्द्र शर्माले नयाँ आएको टिमले धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन सकोस् भन्ने शुभकामना दिनुभयो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक डा.राजेन्द्र शर्माले गत साउन ३१ गतेको निर्वाचनबाट निवार्चित अध्यक्ष गोपाल श्रेष्ठसहित पदाधिकारीहरुलाई सपथ ग्रहण सँगै निवार्चित भएको प्रमाणपत्र समेत वितरण गर्नुभएको थियो ।