
धरान: भोजपुर जिल्लाको विभिन्न ठाउँमा जन्मेर सुनसरीलाई कर्मस्थल बनाएका भोजपुरबासीहरुले आफ्नो जन्मस्थनलाई केही दिन सकियोस भन्ने अभिप्रायले आजभन्दा १२ बर्ष अगाडि गठन भएको भोजपुर सुनसरी सेवा समाजले स्थायी भवन निर्माणका लागि सहयोक जुटाउन गायक भिषण मुकारुङ एकल सांगीतिक साँझको आयोजना गर्ने भएको छ ।
मंगलबार धरान १८ वडा समितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम आगामी भाद्र २८ गते शनिवार बेलुका ५ बजेदेखि धरान १५ मा रहेको किरात याक्थुम चुम्लुङ हिममा आयोजना गर्न लागिएको समितिका अध्यक्ष रेवतीरमण राईले जानकारी दिनुभयो ।
धरान १५ गणतान्त्रिक बस्तीमा सानो टहरा बनाएर दुःखका साथ सञ्चालन हुदै आएको समितिलाई धरान १८ निवासी आजीवन सदस्य माया राईले धरान उपमहानगरपालिका वडा नं. २० को कार्कीछापमा १ कट्ठा जग्गा प्रदान गरेपछि समितिले भवन निर्माणार्थ सांगीतिक कार्यक्रमको आयोजना गरेको अध्यक्ष राईले जानकारी दिनुभयो ।
नेपालमै शिक्षाको पहिलो ज्योति फैलाउने बालागुरु षडानन्द, शताब्दिमै सामाजिक सद्भभाव र महिला हिंसा तथा जातिय छुवाछुतका विरुद्धमा आवाज उठाउने क्रान्तिकारी महिला योगमाया न्यौपाने र प्रजातान्त्रिक योद्धा रामप्रसाद राई जस्ता व्यक्तित्व जन्माउने भोजपुरलाई सुनसरीमा बसेर पनि मातृभूमिको सहयोग गर्न सकियोस् भन्ने हेतुले २०७० सालमा समिति गठन भएको हो । गठन भएयता समितीले सामाजिक गतिविधिलाई निरन्तता दिँदै आएको छ ।
भोजपुर जिल्लाको भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका, ट्याम्केमैयुम गाउँपालिका, अरुण गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, साल्पा सिलिचुङ गाउँपालिका, र पौवादुङ्गा गाउँपालिकामा जन्मिएर सुनसरीमा बासोबास गरेकाहरु आवद्ध छन् ।
सहर र सुगम बसोबास, अध्ययन र रोजगारी लगायतका अवसरको खोजीका शिलशिलामा परापूर्व कालदेखि नै भोजपुरबासी सुनसरी जिल्लामा अस्थायी तथा स्थायी रुपमा बसोबास गर्दै आएका छन् । जन्मथलो र कर्मथलो जिल्लालाई केन्द्र विन्दुमा राखेर एक आपसमा एकता र सद्भाव कायम गर्दै आफ्नो ईतिहास पहिचान र सँस्कृतिलाई जोगाउँदै भावी सन्ततीलाई समेत जानकारी गराउने उद्देश्यले यो समिति गठन गरिएको हो । अहिले यो समितिमा १ हजार भन्दा बढी आजिवन सदस्यको रुपमा रहेका छन्