
धरान: खेलकुद क्षेत्रमा धरानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न विधामा संवरण पदक र महत्वपूर्ण योगदान पुर्याउने खेलाडीहरुलाई धरान खेलकुद मञ्चले सम्मान स्वरुप अवार्ड वितरण गर्ने भएको छ । गत बर्षदेखि शुरु गरिएको अवार्ड वितरण कार्यक्रम यस बर्ष पनि आयोजना गर्ने आयोजकले जनाएको छ ।
धरान खेलकुदको उर्वरभूमि हो । यहाँ धरानका प्राय: सबै विधाका खेलकुदका गतिविधिहरु भइरहन्छन् । धरानले धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीमात्र उत्पादन गरेको छैन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएको खेलकुद प्रतियोगितामा भाग लिएर पदक प्राप्तगरेसँगै धरानको मात्र हैन नेपालकै नाम राख्न सफल भएका छन् । तर यस्ता खेलाडीहरुलाई राज्यले कहिल्यै पनि प्रोत्साहन गर्न सकेन । यसैलाई मध्यनगर गरी मञ्चले खेलकुद क्षेत्रमा गरिमामय उपस्थिति जनाएर धरानको प्रतिनिधित्व गर्दै राष्ट्रप्रति समर्पित भएका खेलाडीहरुलाई सम्मान स्वरुप अवार्ड वितरण गर्न लागिएको जनाएको छ ।
छनौट समिति बनाएर मनोनयममा परेका खेलाडीहरुलाई साउन १७ गते होटल धरान किचनमा एक कार्यक्रमबीच अवार्ड वितरण गर्न लागिएको मञ्चका सल्लाहकार राजेशमान श्रेष्ठले जानकारी दिनुभयो ।
सल्लाहकार श्रेष्ठको संयोजकत्वमा सल्लाहकार दिपेश शाक्य र मञ्चका सदस्य सचिव बिक्रम लिम्बु सदस्य रहेको ३ सदस्यीय छनौट समितिले अहिले खेलाडी मनोनयन गर्ने काम गरेको र छनौट भएकामध्ये ७ जनालाई अवार्ड वितरण गरिने छ । छनौट समितिका संयोजक श्रेष्ठले अवार्ड कार्यक्रमले धरानमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाउने खेलाडी रहेछन भन्ने जानकारी अन्यत्र हुने र खेलमा समर्पित खेलाडीहरुलाई पनि हौसला मिल्ने भएकोले गत बर्षदेखि निरन्तर अवार्ड कार्यक्रमको आयोजना गर्न थालिएको बताउनुभयो ।
सोही कार्यक्रममा धरान अवार्ड २०८२ अन्तर्गत उत्कृष्ट धरान बर्ष खेलाडीको लागि मनोनयनमा परेका महिला र पुरुष खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ । धरान खेलकुद मञ्चले उत्कष्ट बर्ष खेलाडी महिला, पुरुषसँगै उत्कृष्ट प्रशिक्षक र द राइजिङ स्टार खेलाडीको नाम पनि सार्वजनिक गरेको हो ।
अवार्डका लागि मञ्चले निवेदन माग गरेको थियो । निवेदनमा १४ जनाको नाम परेको मञ्चका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो ।
खेलकुदको उर्वरभूमि धरानको खेललाई अझ मलजल गर्दै खेलाडी उत्पादन र व्यवसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले मञ्च गठन भएको बताउदै विद्यालय स्तरदेखि नै दक्ष प्रशिक्षकद्वारा प्रशिक्षणको व्यवस्था मिलाउन विद्यालयसँग सहकार्य भइरहेको बताउनुभयो । धरानलाई खेलकुदको सहर भनेर चिनाउनेमात्र हैन अब्बल खेलाडी उत्पादन गर्न पनि मञ्च लागि पर्ने बताउनुभयो ।
उहाँका अनुसार छनौट समितिले उत्कृष्ट धरान बर्ष खेलाडी पुरुषको लागि सितेरियो विधातर्फका साहिल राई र निगम राई र शारीरिक सुगठनतर्फबाट अवतार श्रेष्ठलाई मनोनयन गरिएको छ । यसैगरी महिलातर्फ दुवैजना सितेरियो करातेका खेलाडी मनोनयमा परेका छन् । सितेरियो खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल प्रदर्शन गरेर धरानको नाम रोशन गर्ने बर्षा राई र सलिना जोगी मनोनयनमा परेका छ्न् । मञ्चले खेलमा विभिन्न विद्यामा योगदान पुर्याउनेमात्र हैन उदयीमान खेलाडी तथा भर्खरै उदाउदै गरेका खेलाडीहरुलाई समेत अवार्ड वितरण गर्ने भएको हो । जस अनुसार टेवुल टेनिशका बाल खेलाडी अर्थात १५ बर्ष मुनिका खेलाडीहरु उदाउदै गरेको अर्थात द राइजिङ स्टार विधानमा सुलेखा ठाकुर, गौतम तामाङ र श्रेया सुवेदी अवार्डका लागि मनोनयमाम परेका छन् ।
उत्कृष्ट प्रशिक्षक अवार्डमा मनोनयन पर्नेहरुमा करातेका प्रशिक्षक किरण लामा, टेवुल टेनिसका गीता थापा र साइक्लिङका श्याम तामाङ रहनु भएको छ । धरानबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्नेसँगै धरानबाट खेलकुदमा प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई मात्र छनौट गरिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । मनोनयममा परेकाहरुमध्ये एक/एक जनालाई अवार्ड वितरण गरिने भएको छ ।
मञ्चका अनुसार उत्कृष्ट धरान बर्ष खेलाडी महिला र पुरुषले जनही नगद ३० हजारसहित अवार्ड, उत्कृष्ट बर्ष प्रशिक्षकले नगद २० हजारसहित अवार्ड र द राईजिङ स्टार खेलाडीले नगद १५ हजार सहित अवार्ड पाउनेछन् । सोही कार्यक्रममा पूर्व फुटबल खेलाडी स्व. विक्रम राईको स्मृतिमा पारा ओलिम्पिक प्रतियोगितामा पदक जित्ने विबेक राईलाई नगद १० हजार सहित सम्मान गरिने भएको छ । आयोजकका अनुसार सोही कार्यक्रममा नगद १५ हजारसहित मोष्ट भ्यालुएवल पुरस्कार र धरानको खेलकुद क्षेत्रमा कलम चलाएवापत एक जना सञ्चारकर्मीलाई समेत नगद १५ हजारसहित उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार गरिने आयोजकले जनाएको छ ।