
ओखलढुंगा: कोशी प्रदेशको दुर्गम जिल्ला ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाका महिलाहरुलाई उद्यमी बनाउनका लागि जडिबुटीबाट साबुन बनाउने तालिम दिइएको छ ।
मुलुकमा संघीयता आएसँगै स्थानीय सरकारले आदिवासी जनजाति, दलितसँगै महिला लक्षित स्वरोजगार कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले महिला लक्षित स्वरोजगार अन्तर्गत गाउँपालिकाका २० जना महिला र एक जना पुरुषलाई जडिबुटीबाट सावुन बनाउने तालिम दिएको हो ।
तालिमको सहजीकरण महिला उद्यमी मनिता घिमिरेले गर्नुभएको थियो । जेठ १२ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको तालिमको समापन गाउँपालिकका अध्यक्ष नवराज केशीले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै अध्यक्ष केसीले महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउँदै सक्षम महिला उत्पादन गर्ने उद्देश्य अनुरुप जडिबुटीबाट साबुन बनाउने तालिम दिएको बताउनुभयो । उहाँले गाउँघरमै पाइने तीतेपाती लगायतका जडिबुटीबाट सहज रुपमा साबुन सकिने भएकोले महिलालाई उद्यमी बन्न समेत सहज हुने बताउनुभयो ।
उहाँले यस भन्दा अगाडि महिलाहरुलाई सिलाईबुनाई तालिम समेत दिइसकेको बताउदै सिकिसकेपछि यसको सही सदुपयोग गर्न सहभागी महिलालाई आग्रह गर्नुभयो । उहाँले तालिमपश्चात पनि उद्यमी बन्ने महिलालाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा तालिममा सहभागी महिलाहरुले समेत तालिम प्रभावकारी भएको बताउदै सिकेको सीपलाई सही सदुपयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा तालिममा सहभागी महिलाहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकका प्रशासकीय अधिकृत राजकुमार दाश, विश्वनाथ भण्डारी, लेखा अधिकृत वैकुण्ठ कार्की लगायतको उपस्थिति रहेको थियो ।