खेलकुद

धरान १० के रनको दर्ता खुल्यो, धावकलाई एक लाखसम्मको उपचार बिमा


धरान: धरानमा आगामी माघ २३ गते आयोजना हुने १५औँ संस्करणको ‘धरान १० के रन–नेवा च्यारेटी २०२७’ का लागि दर्ता खुल्ला गरिएको छ।
प्रतियोगितामा ५ हजारभन्दा बढी धावकधाविका सहभागी हुने आयोजक धरान रन समूहले अपेक्षा गरेको छ।
धरान रन समूहले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको दर्ता खुला गरिएको जानकारी दिएको हो। यस संस्करणमा दर्ताका लागि तीन चरणको शुल्क निर्धारण गरिएको छ।
दर्ता शुल्क कति ?
अर्ली बर्ड रजिस्ट्रेसन अन्तर्गत कात्तिक १ देखि मंसिर १४ गतेसम्म दर्ता गर्नेले ४ सय रुपैयाँ तिर्नुपर्नेछ। नियमित दर्ता अन्तर्गत मंसिर १५ देखि पुस ३० गतेसम्म ५ सय रुपैयाँ शुल्क लाग्नेछ। त्यस्तै, माघ १ देखि १५ गतेसम्म दर्ता गर्नेले ७ सय ५० रुपैयाँ तिर्नुपर्नेछ। १३ वर्षमुनिका बालबालिकाका लागि भने कात्तिक १ देखि माघ १५ गतेसम्म ४ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ।
‘शिक्षाका लागि दौड’नारासहित आयोजना हुने प्रतियोगितामा खुला विधातर्फ प्रथम हुने महिला तथा पुरुष धावकले जनही ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।
त्यस्तै, १३ वर्षमुनि र १२ देखि १५ वर्ष उमेर समूहका महिला तथा पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार दिइनेछ।
४० देखि ४९ वर्ष उमेर समूहको भेट्रान विधामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ प्रदान गरिनेछ। ५० देखि ५९ वर्ष उमेर समूहको मिड भेट्रान विधामा क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। ६० वर्षमाथिको सुपर भेट्रान विधामा प्रथम हुने महिला तथा पुरुष धावकलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। निर्धारित समयभित्र दौड पूरा गर्ने सहभागीलाई मेडल, जुस तथा पानी उपलब्ध गराइनेछ। आयोजकका अनुसार सिनियरतर्फ उत्कृष्ट २ हजार र जुनियरतर्फ उत्कृष्ट ९ सय धावकलाई मेडल प्रदान गरिनेछ।
धरानका स्थानीय धावकधाविकालाई प्रोत्साहन गर्न छुट्टै आकर्षक पुरस्कारको व्यवस्था गरिनेछ।
प्रतियोगितामा ह्विलचेयर रेससमेत आयोजना गरिनेछ। दौडका क्रममा गम्भीर चोटपटक लागेमा एक लाख रुपैयाँसम्मको उपचार बिमाको व्यवस्था गरिएको आयोजकले जनाएको छ। धावकको समय मापन गर्न चिप टाइमिङ प्रणाली प्रयोग गरिनेछ।
शिक्षाका लागि दौड:
प्रतियोगिताबाट संकलित रकम नेवा एजुकेशन फण्डमा थप गरी सामुदायिक विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। धरान रन समूहले विगतदेखि नै प्रतियोगिताबाट संकलित रकम शिक्षा तथा सामाजिक सेवामा खर्च गर्दै आएको जनाएको छ।
प्रतियोगिता बिहान ७ः३० बजे धरानको भानुचोकबाट सुरु हुनेछ। प्रतियोगिता पुतलीलाइनबाट सुरु भई देशीलाइन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चोक, हात्तीसार क्याम्पस, रेडक्रस भवन, अमरहाट, कभर्ड हल, जिरो पोइन्ट, जानकी चोक, धरान रंगशाला, गणेशमान चोक, पानीट्यांकी, कल्याण चोक, मंगलबारे, रत्न चोक, बुद्ध चोक, दुर्गा चोक, पुतली लाईन हुँदै भानुचोकमा पुगेर समापन हुने आयोजकले जनाएको छ। आयोजकले प्रतियोगितालाई सफल बनाउन नगरवासी, संघसंस्था तथा सरोकारवालासँग सहयोगको अपिल समेत गरेको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक