
धरान: धरानका ज्येष्ठ नागरिकमा हड्डी कमजोर हुने समस्या (अस्टियोपोरोसिस) पहिचान तथा उपचारका लागि रोटरी क्लब अफ धरान घोपाले निःशुल्क अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन गर्ने भएको छ।
‘स्वस्थ हड्डी, स्वस्थ वृद्धावस्था’ नारासहित सञ्चालन हुने कार्यक्रम धरान उपमहानगरपालिका, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायसँगको सहकार्यमा सञ्चालन गरिने क्लबले जनाएको छ।
बुधबार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिँदै क्लबले करिब १ हजार जना उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकको प्रारम्भिक स्क्रिनिङ गर्ने लक्ष्य राखिएको जनाएको हो। परीक्षणबाट अस्टियोपोरोसिस पहिचान भएका बिरामीलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने तयारीसमेत गरिएको छ।
कार्यक्रम अन्तर्गत ६५ वर्ष वा सोभन्दा माथिका महिला तथा ७० वर्ष वा सोभन्दा माथिका पुरुषको हड्डी परीक्षण गरिनेछ। हड्डीको घनत्व परीक्षण स्क्यानर डेक्सिटोमिटर प्रविधिबाट उपचार गरिने जानकारी दिएको छ। उक्त परीक्षण सेवा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपलब्ध रहेको क्लबले जनाएको छ।
क्लबका अनुसार वृद्धावस्थामा देखिने दीर्घकालीन स्वास्थ्य समस्यामध्ये अस्टियोपोरोसिस महत्वपूर्ण समस्या हो। यसले कम्मर, ढाड तथा नाडीको हड्डी भाँचिने जोखिम बढाउनुका साथै दीर्घकालीन दुखाइ, अपाङ्गता, परिवारमा निर्भरता र उपचार खर्चसमेत बढाउन सक्छ।
कार्यक्रममार्फत ज्येष्ठ नागरिकमा अस्टियोपोरोसिससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, उच्च जोखिममा रहेका नागरिकको पहिचान गर्ने र रोग निदान भएका बिरामीलाई उपचारमा पहुँच पुर्याउने उद्देश्य रहेको क्लबले जनाएको छ।
रोटरी क्लब अफ धरान घोपाले यो अभियानलाई धरानमा अस्टियोपोरोसिस रोकथामको पहिलो चरणका रूपमा अघि बढाउने जनाएको छ। आगामी दिनमा धरान उपमहानगरपालिका, स्वास्थ्य संस्था र समुदायसँगको सहकार्यमा कार्यक्रमलाई वार्षिक सार्वजनिक स्वास्थ्य अभियानका रूपमा निरन्तरता दिने लक्ष्य राखिएको छ।
क्लबका कार्यक्रम संयोजक अतुल श्रेष्ठ र अध्यक्ष अलंकार पालिखे रहेका छन ।
कार्यक्रमले ज्येष्ठ नागरिकलाई स्वस्थ, बलियो र आत्मनिर्भर जीवनयापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

