समाज

धरान १९ नम्बर वडाद्वारा दलित लक्षित अभिमुखीकरण तथा अन्तरकृया कार्यक्रम

धरान उपमहानगरपालिका वडा नं. १९ को कार्यालयले दलित वर्ग लक्षित अभिमुखीकरण तथा अन्तरकृया कार्यक्रम मंसिर ९ गते कार्यालयको सभाहलमा सम्पन्न गरेको छ ।
वडा सदस्य तथा कार्यक्रम संयोजक चन्द्रमाया विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्ष पूर्ण बहादुर लिम्बु प्रमुख अतिथि रहेका थिए । १९ नं. वडा सदस्य झुमादेवी गुरुङ, जसरथ सुब्बा, लोकेन्द्र राई, वडा सचिव भानुभक्त चौहान लगायतका अतिथिहरुको उपस्थितिमा दलित समुदायका करिब ५५ जना सहभागिहरु कार्यक्रममा सहभागि भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष पूर्णबहादुर लिम्बुले भने, “दलित समुदायले आफ्नो हक, अधिकार खोज्नका लागि सबै तहका सरकारसँग समन्वय गर्नुपर्छ । कमजोरहरुको अभिभावक सरकार हो, त्यसैले हामी हाम्रो वडालाई पूर्णरुपमा छुवाछूत तथा भेदभाव मुक्त बनाउन जोडले लागेका छौं । कसैले कसैलाई जातका आधारमा भेदभाव गर्नुहुँदैन, यदि भेदभाव गरेमा कानुन अनुसार कडा कार्बाही गरिन्छ ।”

कार्यक्रममा दलित विकास समितिका पूर्व सदस्य सचिव, कानून तथा लेखापढी व्यवसायी, बरिष्ठ पत्रकार, दलित अधिकारकर्मी एवम् राजनीति तथा समाजशास्त्रीय अध्येता तारा लामगादेले सहजीकरण गरेका थिए । कार्यक्रम सहजीकरण गर्दै तारा लामगादेले भने, “जात व्यवस्थाले समाजमा ठूलो संख्यामा रहेका मानिसहरुलाई पिरमर्कामा पारेको हो । ऐतिहासिक श्रमजीवि वर्गलाई अछूत हुँदै चरम शोषण र दमनमा पारेको छ । समाजको सबैभन्दा पिँधमा पारिएको समुदाय दलित समुदाय हो । नेपालको राजनीतिक आन्दोलनभन्दा जेठो दलित आन्दोलन हालसम्म पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । केहि संवैधानिक तथा कानूनी उपलब्धी भएका छन्, यसको प्रयोग गर्न पनि समुदायका मानिसहरुलाई थाह छैन, यस्ता कार्यक्रमबाट उनीहरुलाई सचेतना जगाउनुका साथै आफ्ना हक, अधिकारका लागि अघि बढ्न सहयोग पुगेको छ ।”

कार्यक्रममा दलितको उत्पत्ति, परिभाषा र वर्तमान अवस्थाको विषयमा प्रकाश पार्दै उनले भने, “दलित भनेको शासक वर्गले हेपेर दिएको उपमा होइन, यो शब्द २६ वटा जातिलाई सम्बोधन गर्ने साझा नाम हो, यो दलित आन्दोलनबाट स्थापित संगठित शक्ति हो । बरु समाजमा अहिले पनि कायम रहेका हिनताबोध हुने जातीय उपमाहरु खारेज गरिनुपर्छ । दलित भनेको आर्थिक, राजनीतिक, शैक्षिक, सामाजिक र सांस्कृति रुपमा पछि परेको समुदाय हो । देशभर ६० लाख भन्दा बढि मानिसहरुको अवस्था आज पनि कमजोर छ, त्यहि उत्पीडित समुदायलाई गोलबद्ध गराउने नाम दलित हो । दलित शब्दमा हिनताबोध होइन गर्व गरेर थप अधिकारका लागि संगठित बन्न आवश्यक छ ।”
सहजकर्ता तारा लामगादेले भने, “२००४ सालबाट संगठित रुपमा उठेको दलित आन्दोलनबाट २०६३ सम्म आइपुग्दा छुवाछूत मुक्त राष्ट्र घोषणा भएको छ । २०६८ सालमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको कसुर (सजाय) ऐन नै लागु भएको छ । २०७२ को संविधान र २०७४ को मुलुकी ऐनले समेत दलित हक अधिकारको सुनिश्चित गरेको छ । दलितले शिक्षा, रोजगारी, राजनीति आदि क्षेत्रमा आरक्षण पाएका छन् । खोजी गर्नका लागि ति सबै व्यवस्था बारे सहभागिलाई प्रष्ट पारिदिएको छ, अब खोज्ने काम उनीहरुको हो ।”
कार्यक्रममा दलित समुदायले आफ्नो क्षमता विकासका लागि प्रयत्न गर्नुपर्ने भन्दै राज्यको सहयोगमा अब जुरुक्कै उठेर अन्य समुदाय सरह आफ्नो हैसियत बनाउनु पर्नेमा सहजकर्ता तारा लामगादेले जोड दिए । उनले भने, “कागजमा लेखिएका कुरा आफ्नै कार्यान्वयन हुँदैन, त्यसका लागि समुदायका मानिसहरु संगठित रुपमा अघि बढ्नु पर्छ । आफ्नो व्यक्तित्व विकास गर्न र अधिकार खोज्न अब सक्षम बन्नुपर्छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले समाजवादी व्यवस्थाको परिकल्पना गरेको छ, समाजवाद ल्याउन दलित समुदायको योगदान आवश्यक छ, अहिलेको दलाल पुँजीवादी व्यवस्थामा सामन्ती अवशेष कायम छ, यसलाई उखेल्नका लागि र समतामूलक समाज निर्माण गर्न दलित समुदायले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्छ ।”

वडा सदस्य तथा कार्यक्रम संयोजक चन्द्रमाया विश्वकर्माले विगत वर्षहरुमा पनि दलित समुदायको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताइन् । उनले दलित समुदायमा जनचेतना कमी भएको र आफ्नो अधिकारका बारेमा कम जानकारी पाइएकोले कानूनी विषयलाई मध्यनजर गरेर कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

उक्त अबसरमा वडा सदस्य झुमादेवी गुरुङले वडा कार्यालयबाट लक्षित समुदायका लागि गरिने विभिन्न कार्यक्रम अन्तर्गत दलित समुदायलाई लक्षित गरेर १ दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताइन् । उनले कार्यक्रमको उद्देश्य पुरा गर्न सहजकर्ताले एकदमै राम्रो प्रशिक्षण दिएको बताइन् । वडाबाट अन्य समुदाय लक्षित कार्यक्रम समेत गर्ने बताइन् ।
कार्यक्रमको समापन गर्दै वडा सचिव भानुभक्त चौहानले भने, “वडा कार्यालयले बेलाबखत महत्वपूर्ण भेला तथा कार्यक्रमको आयोजना गरेको हुन्छ, हामीले करिब ५५ जनालाई निमन्त्रणा गरेका थियौं, तपाईहरुको उपस्थितिले हामीलाई आफ्नो लक्ष्यमा पुग्न मद्दत भएको छ । अभिमुखीकरण कार्यक्रममा अनुभवी, दक्ष र प्रभावकारी सहजकर्ता पाएका छौं, यसले वडामा रहेका दलित समुदायको बृद्धि विकास र हक अधिकार सुनिश्चित हुने कुरामा हामी थप उत्साहित भएका छौं ।”
कार्यक्रममा सहभागिहरुले आफुहरुमा दलित शब्दप्रति हिनताबोध रहेको र प्रशिक्षण पछि आफ्नो अधिकारका लागि उत्साह लागेको बताए । उनीहरुले प्रतिक्रिया दिँदै भने, “यस प्रकारका कार्यक्रमले जीवनमा निकै उर्जा दिने रहेछ, आफ्नो समुदायको विगत, वर्तमान र भविष्यबारे स्पष्ट भयौं, अब वडा कार्यालयमा मिलेर काम गछौं र हाम्रो वडालाई विभेदमुक्त र भेदभाव रहित बनाउन सहकार्य गछौं ।”

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले