
धरान: विपद्का बेला यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रभावित हुन नदिन न्यूनतम प्रारम्भिक सेवा प्याकेज (एमआईएसपी) कार्यान्वयन तथा विपद् पूर्वतयारीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम धरानमा सम्पन्न भएको छ।
धरान उपमहानगरपालिकाको सभाहलमा सोमबार आयोजित कार्यक्रममा विपद्का समयमा गर्भवती तथा सुत्केरी महिला, किशोरी र अन्य जोखिममा रहेका समूहलाई आवश्यक प्रजनन स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउने विषयमा जानकारी दिइएको थियो।
कार्यक्रमका प्रशिक्षक काशीनाथ पोखरेलले यौन हिंसा रोकथाम तथा पीडितलाई सेवा, मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा, परिवार नियोजन, एचआईभी तथा यौनजन्य संक्रमणको रोकथाम र विपद्का समयमा आवश्यक स्वास्थ्य सामग्री तथा सेवाको व्यवस्थापनबारे जानकारी गराएका थिए। उनले एमआईएसपीले विपद्को सुरुवाती चरणमै अत्यावश्यक यौन तथा प्रजनन स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्य राखेको बताए।
नेपालमा २०७२ सालको भूकम्पपछि एमआईएसपी कार्यान्वयनबाट विपद्का बेला प्रजनन स्वास्थ्य सेवा सञ्चालनको अनुभवसमेत रहेको छ। उक्त अनुभवले विपद् आउनुअघि नै जनशक्ति, स्वास्थ्य सामग्री, समन्वय र सेवा निरन्तरताको तयारी आवश्यक रहेको देखाएको छ।
कार्यक्रममा इृलाका प्रशासनका धरानका प्रमुख फणिनद्र दाहाल,नेपाल परिवार नियोजन संघ सुनसरी शाखा,धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता तथा विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता सामाजिक विकास समिति अध्यक्ष सिर्जना नेपालले गरेकी थिइन्।

