
धरान: धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्रविक्रम बेघाले धरानमा नगर अस्पताल निर्माणका विषयमा मनपरी र मनलाग्दी नबोल्न आग्रह गरेका छन् ।
आइतबार उपमहानगरपालिकाको कार्यपालिका हलमा पुगेका धरानवासी तथा सरोकारवालाको भेलालाई सम्बोधन गर्दै कावा प्रमुख बेघाले नगर अस्पताल निर्माणमा आफू प्रतिबद्ध रहेको बताएका हुन् ।
कावा प्रमुख बेघाले भने, “कहाँ जानुपर्ने छ भने जाऔँ, तर धरानमा नगर अस्पताल बनाउने विषयमा मनपरी र मनलाग्दी नबोलौँ। धरानमा नगर अस्पताल बनाउन मेरो पनि ठूलो हुठुहुटी छ। पुरानो अस्पताल रहेको स्थानमै नगर अस्पताल बन्नुपर्छ भन्ने पक्षमा म पनि छु, तर २०७४ सालमा उक्त जग्गा बीपी प्रतिष्ठानको नाममा गएको यथार्थलाई बिर्सन मिल्दैन।”
उनका अनुसार उक्त जग्गा फिर्ता ल्याउने काम मन्त्रिपरिषद्को निर्णयबाट मात्र सम्भव हुने भएकाले तत्काल जग्गा फिर्ता नहुँदासम्म वैकल्पिक स्थानका विषयमा छलफल सुरु गरिएको हो। उनले धराने जनतालाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन छिटोभन्दा छिटो नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए । साथै उनले १५ दिनभित्र नगर अस्पताल सञ्चालनमा ल्याउने विषयमा आफू प्रतिबद्ध रहेको समेत दोहोर्याए ।
धरान–१ स्थित पुरानो अस्पतालको जग्गा फिर्ता ल्याउने विषयमा स्पष्ट धारणा नआएको भन्दै भेलामा सहभागीहरूबीच चर्काचर्की समेत भएको थियो। पछिल्लो समय धरानमा नगर अस्पताल निर्माणको विषयलाई लिएर विवाद बढ्दै गएको छ भने नगर अस्पताल स्थापनाको माग पनि चर्किँदै गएको छ ।
यसैबीच धरान–१६ स्थित पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) लाई मर्ज गरेर उक्त स्थानमा नगर अस्पताल निर्माण गर्ने विषय सार्वजनिक भएपछि विवाद थप चुलिएको छ। अधिकांश धरानवासी तथा सरोकारवालाहरूले पुरानो अस्पतालकै जग्गा फिर्ता ल्याएर सोही स्थानमा नगर अस्पताल निर्माण गर्नुपर्ने माग राख्दै आएका छन् ।
२०७४ सालमा मन्त्रिपरिषद्को निर्णयबाट उक्त जग्गा बीपी प्रतिष्ठानको नाममा नामसारी गरिएको थियो। अहिले सो जग्गा पुनः धरान उपमहानगरपालिका मातहत ल्याएर नगर अस्पताल निर्माण गर्नुपर्ने माग सरोकारवालाहरूले जोडदार रूपमा उठाएका छन् ।
नगर अस्पतालको पुनर्स्थापनाका लागि अभियान चलाइरहेका डा. राजेन्द्र शर्माले भेलामा पुरानो अस्पतालको इतिहास प्रस्तुत गर्दै मन्त्रिपरिषबाटै जग्गा फिर्ता ल्याउन संस्थागत पहल आवश्यक रहेको बताए । उनले कावा प्रमुख बेघाको ध्यानाकर्षण गराउँदै सो विषयमा ठोस पहल गर्न आग्रह गरे ।
त्यसैगरी रास्वपाका नेता शरीन तामाङले नगर अस्पताल निर्माणको टुंगो नलागेसम्म नगरबाट विनियोजित २ करोड रुपैयाँ कार्यान्वयन नगर्न अनुरोध गरेका छन् । उनले विद्यालयको स्थानमा विद्यालय नै र अस्पतालको स्थानमा अस्पताल नै हुनुपर्ने धारणा राख्दै पुरानो अस्पतालकै जग्गामा नगर अस्पताल निर्माण गर्न आफ्नो पहल रहने बताए ।
धरान–१ स्थित पुरानो अस्पतालको जग्गा पुनः धरान उपमहानगरपालिकाको नाममा ल्याउन माग गर्दै श्रम संस्कृति पार्टीले कावा प्रमुख बेघालाई ज्ञापनपत्र बुझाएको छ ।
पार्टीका अध्यक्ष दिनेश राई र सचिव प्रेमकुमार श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृतमार्फत बुझाएको ज्ञापनपत्रमा पुरानो अस्पताल रहेको करिब १ बिघा १३ कठ्ठा क्षेत्रफल जग्गा हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको उल्लेख गर्दै उक्त जग्गा पुनः नगरको नाममा ल्याउन पहल गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा धरान–१ स्थित पुरानो अस्पताल क्षेत्र धरानका नागरिकका लागि ऐतिहासिक तथा आवश्यक स्वास्थ्य सेवा केन्द्र भएको उल्लेख गरिएको छ । उक्त स्थानमा पुनः नगर अस्पताल स्थापना गर्नुपर्ने जनचाहना बढ्दै गएको पनि पार्टीले जनाएको छ ।
साथै, नगरवासीको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न पुरानो अस्पतालको ऐतिहासिक जग्गा नगर मातहत ल्याउन आवश्यक पहल तत्काल सुरु गर्नुपर्ने उल्लेख गरिएको छ ।


