
धरान: गोरखा सेमिट्रीज ट्रस्ट नेपालको आयोजनामा पुर्खा दिवसको अवसर पारेर धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरभित्र रहेको गोरखा सेमेट्री (चिहान) मा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ।
आइतबार आयोजित कार्यक्रममा भूपू गोर्खा सैनिक तथा परिवारजनहरूले सेमेट्रीमा पुगेर मौनधारण गर्दै पुष्पगुच्छा अर्पण गरी दिवंगत सैनिकहरूप्रति सम्मान व्यक्त गरेको हो।
उक्त सेमेट्रीमा बेलायती सेनामा कार्यरत रहँदा विभिन्न स्थानमा ज्यान गुमाएका गोर्खा सैनिकहरूको सम्झनामा समाधिस्थल निर्माण गरिएको छ।
कार्यक्रमका अवसरमा ‘गोर्खा ट्रेल ब्लेजर नेपाल २०२६’ को चौथो संस्करणका लागि खटिएका स्वयंसेवकहरूलाई टिसर्ट तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको गोरखा सेमिट्रीज ट्रस्ट्र नेपालका अध्यक्ष महेन्द्र राईले बताए।
कार्यक्रमका प्रमुख अतिथि पूर्व संघीय सांसद जय कुमार राईले पहिलो र दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेका गोर्खा सैनिकहरूको इतिहास कहिल्यै भुल्न नहुने बताए। उनले गोर्खा सैनिकहरूको योगदानले नेपाललाई विश्वभर चिनाएको उल्लेख गरे।
यसैगरी नेपाल पत्रकार महासंघ सुनसरी का निर्वतमान अध्यक्ष जनकऋषि राई ले गोरखा सेमिट्रीज ट्रस्ट नेपाल स्थापना हुनुको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी दिएका थिए। उनले पहिलो विश्वयुद्धका क्रममा फ्रान्स र बेल्जियमको सीमाक्षेत्रमा भएको भीषण युद्धपछि त्यहाँ फुलेको ‘पप्पी’ फूललाई वीरगति प्राप्त सैनिकहरूको सम्झनाको प्रतीकका रूपमा लिने गरिएको प्रसंग पनि सुनाए।
ट्रस्टले गोर्खा सैनिक तथा उनीहरूका परिवारका सदस्यहरूको समाधिस्थल संरक्षण, मर्मत, अभिलेखीकरण तथा सरसफाइ गर्ने कार्य गर्दै आएको जनाएको छ। विशेष अवसरहरूमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने परम्परा पनि रहेको छ।
पुर्खा दिवससँग सम्बन्धित परम्परा अनुसार हङकङलगायत विभिन्न स्थानमा रहेका नेपाली समुदायले समाधिस्थलमा पुगेर चिहान सफा गर्ने, फूल तथा माला अर्पण गर्ने, धूप बाल्ने र सामूहिक श्रद्धाञ्जली दिने गरेका छन्।
आयोजकका अनुसार गोरखा सेमेट्री ट्रस्ट समाधिस्थल व्यवस्थापन गर्ने संस्था मात्र नभई इतिहास, पहिचान र सम्मानको प्रतीकका रूपमा स्थापित छ। पुर्खाहरूको इतिहास, वीरता र योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले ट्रस्टले नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष राईले जनाएको छ ।
कवि अमित थेवेले पहिलो र दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेका गोर्खा सैनिकहरूको इतिहास सम्बन्धी कविता समेत प्रस्तुत गरे ।

