
धरान-१६ स्थित पन्चायत आधारभूत विद्यालय (भकारी स्कुल) लाई मर्ज गरेर नगर अस्पताल बनाउने विषय बाहिरिएपछि धरानमा विवाद उत्पन्न भइरहेको छ ।
यसअघि धरानको छाताचोकस्थित पुरानो अस्पताललाई नगर अस्पताल बनाउने विषय टुंगो नलागिरहेको अवस्थामा धरान नगर अस्पतालको विषय पेचिलो बन्दै गएको छ ।
धरानमा नगर अस्पताल नहुँदा धरानेले स्वास्थ्य बिमा सेवा धरानमै प्राप्त गर्न नसक्ने विषय प्रकाशमा आएको थियो ।
छाताचोक स्थित पुरानो धरान अस्पतालमै नगर अस्पताल निर्माण गर्नुपर्ने माग गर्दै आज शुक्रवार अभियानकर्ताहरूले सार्वजनिक छलफलमा गरेका छन् ।
उनीहरूले जग्गा मन्त्रिपरिषद्को निर्णय मार्फत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा गएको हुँदा सरकारले चाहेको खण्डमा फिर्ता गर्न सक्ने अवस्था रहेको छलफलमा निष्कर्ष निकालेका छन् ।
छलफलमा सहभागी हरि कार्कीले उपमहानगरपालिकाले मात्र पहल गरेर अस्पतालको जग्गा फिर्ता आउन नसक्ने भएकाले यसलाई अभियानकै रूपमा अघि बढाउनु पर्ने बताए ।
रास्वपा नेता शरिन तामाङले स्वास्थ्य मन्त्रीलाई धरानको नगर अस्पताल विषयमा जानकारी गराएको बताएकी छन् । उनले भनिन् ‘पुरानो प्रसूति गृहलाई नगर अस्पताल बनाउन उपयुक्त छ, विद्यालय भवनमा असर नपरोस् ।’ उनले स्कुल मासेर अन्य प्रयोजन गर्न नहुने राय राखेकी छन् ।
नेता तामाङले भनिन ‘ जनताले पार्टीको लागि काम गर्छ भने पार्टीले पनि जनताको काम गर्नु पर्छ । यदि रास्वपा पार्टीले जनताको काम गर्देन भने हामी सबैले पार्टीको झन्डा घण्टी बोकेर हिडनु पर्छ भन्ने छैन ।’
धरान निवासी पूर्व सुनसरी जिल्ला जनस्वास्थ्य प्रमुख डा. श्रीराम साहले धरान उपमहानगरपालिकाले जग्गा फिर्ता ल्याउन पहल गर्ने निर्णय गरेर फाइल कोशी प्रदेशको प्रमुख सचिवको कार्यालय सम्म पुगेको बताए ।
राप्रपाका नेता उद्धव श्रेष्ठले कावा प्रमुखले आफ्नो स्वार्थमा भकारी स्कुलमा लैजानु आटेको हुनकी भन्दै प्रश्न गरेका थिए । उनले रास्वपाको एकल सरकार भएकाले रास्वपा धरानले सरकार समक्ष पुर्याएर धरान नगर अस्पताल निर्णयमा पहल गर्नुपर्ने बताए ।
छलफलले पुरानो अस्पताल परिसरमै नगर अस्पताल स्थापना गर्न पहल समिति गठन गर्ने र सम्बन्धित मन्त्रालयमा र उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउने सहमति भएको छ ।
धरानका राजनीतिक दल, समाजसेवी, जनप्रतिनिधि र स्थानीयले एकमत रूपमा पुरानो अस्पतालमै नगर अस्पताल बनाउनुपर्ने माग राखेका छन् ।

