
धरान: चलचित्र पत्रकार सङ्घ नेपाल, सुनसरीको तेस्रो अधिवेशनले खेमराज श्रेष्ठ (सुवास सङ्कल्प) को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
आइतबार धरानमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा रविन राउत, सचिवमा मनोज दाहाल, सहसचिवमा आरती थापा र कोषाध्यक्षमा सुमित कार्कीलाई चयन गरेको छ ।
सदस्यहरूमा रविन काफ्ले, आरती कटवाल, अश्विन दाहाल, तुलसी घिमिरे, मनिषा विश्वकर्मा, सञ्जीव तिमल्सिना, इजन तामाङ र विशाल काफ्ले सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक चलचित्र पत्रकार संघका कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य नरेन्द्र बस्नेतले जानकारी दिए ।
अधिवेशनले प्रदेश प्रतिनिधिमा एलन गहतराज, तुलसी घिमिरे, मनोज दाहाल, सुमित कार्की र सुमन राईलाई चयन गरेको छ । केन्द्रीय प्रतिनिधिमा विनोद विश्वकर्मा र आरती थापा चयन भएका छन् ।
निर्वाचन समितिमा सङ्घका केन्द्रीय सदस्य नरेन्द्र बस्नेत संयोजक, प्रदेश अध्यक्ष सञ्जु राई, नेपाल पत्रकार महासङ्घ जिल्ला सदस्य रोहित कुलुङ राई सदस्य थिए
प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख आइन्द्रविक्रम बेघाले पत्रकारहरू निष्पक्ष हुनुपर्ने आग्रह गर्दै भनेका छन् ‘कुनै आलोचनात्मक समाचार सम्प्रेषण गर्दा सम्बन्धित पक्षको भनाई राखिएन भने पत्रकारलाई एकपक्षीय भएको आरोप लाग्न सक्छ ।’
चलचित्र पत्रकार सङ्घ सुनसरी जिल्ला अधिवेशनको समापन कार्यक्रममा आज आइतबार उनले महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनमा उल्लेखित धरान उपमहानगरपालिकाको अनुगमन भत्ताका बारेमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उक्त कुरा बताएका हुन ।
चलचित्रको होस या कुनै पनि विधाको पत्रकारितालाई अहिलेको सामाजिक सञ्जालमा आउने एक पक्षीय गालीगलौजको कन्टेन्ट हुनबाट जोगाए मात्र विश्वसनीयता हासिल गर्न सकिने उनको भनाई थियो ।
अधिवेशनको खुल्ला सत्रमा निवर्तमान अध्यक्ष विनोद विश्वकर्माले साङ्गठनिक अवस्थाका बारेमा बताउँदै आफ्नो कार्यकाल संघर्षपूर्ण र उपलब्धीमूलक भएको बताए ।
चलचित्र पत्रकार संघका कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य नरेन्द्र बस्नेत, याक्थुङ चलचित्रकर्मी सङ्घका अध्यक्ष नवीन मेन्याङ्बो, वरिष्ठ पत्रकार हर्ष सुब्बालगायतको आतिथ्यता रहेको थियो।