धरान विशेष

खानेपानी बोर्डमा नगद मौज्दात १ करोड ७१ लाख, नयाँ वेलबाट दैनिक २५ लाख लिटर पानी थप


धरान: धरान खानेपानी व्यवस्थापन बोर्डमा हाल १ करोड ७१ लाख रुपैयाँभन्दा बढी नगद मौज्दात रहेको जानकारी दिइएको छ।
धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर तथा बोर्डका अध्यक्ष अइन्द्र विक्रम बेघाले फागुन महिनाको आर्थिक अवस्थाबारे जानकारी दिँदै करिब १ करोड ४१ लाख ४० हजार ३३१ रुपैयाँ ८५ पैसा आम्दानी भएको बताए।
आइतबार खानेपानी बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उनले फागुन महिनामा १ करोड ५२ लाख ३७ हजार ७०५ रुपैयाँ खर्च भएको जानकारी दिए। हाल बोर्डमा १ करोड ७१ लाख १४ हजार ३०९ रुपैयाँ ३० पैसा नगद मौज्दात रहेको उनले बताए।
प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको नयाँ २ वटा भूमिगत वेलबाट दैनिक २५ लाख लिटर पानी थपिएको छ। यससँगै धरानमा दैनिक खानेपानीको उपलब्धता २ करोड ४३ लाख ५० हजार लिटर पुगेको छ। अझै एउटा वेल सञ्चालन हुन बाँकी रहेको अध्यक्ष बेघाले जानकारी दिए।
उनका अनुसार हाल खानेपानीको प्रमुख स्रोत उदयवनबाट १७ लाख, चारकोसे क्षेत्रबाट १ करोड ४० लाख, प्रदेश सरकारको वेलबाट २५ लाख तथा सर्दु–खर्दुको पुरानो स्रोतबाट ४५ लाख लिटर पानी प्राप्त भइरहेको छ।
त्यसैगरी सतह स्रोततर्फ निसाने खोला १ लाख, कोकाह खोला १ लाख, नयाँ ट्याङ्की रिचार्ज पोखरीबाट २ लाख, भालु खोला १ लाख, पकुवा १ लाख र कोकाह उपभोक्ता स्रोतबाट १ लाख ५० हजार लिटर पानी उपलब्ध भइरहेको बोर्डले जनाएको छ।
बेघाले पार्टीको कार्यक्रममा प्रयोगका लागि बोर्डको गाडी र पानी माग गरिएको बताए । नियम अनुसार नमिल्ने विषय भए पनि पाइप लाइन पुर्ने काम पानीसँग सम्बन्धित भएकाले पछि खाना पकाउने प्रयोजनका लागि गाडी र पानी पठाइएको बताए ।
उनले भने ‘माननीय ज्युले फोनमा ट्याङ्कर दिनभर राख्ने भनिए पनि आफूले दिनभर ट्याङ्कर राख्न नमिल्ने र पानी भरेपछि तुरुन्त फिर्ता गर्नुपर्ने सर्त मात्र राखेको थिएँ ।’ तर पानी भर्ने क्रममा ढिलाइ भएर ट्याङकर ढिलो पुग्दा सामाजिक सञ्जालमा अनर्गल र तथानाम गालीले भरिएको उनले बताए ।
बेघाले खानेपानी संरचनाको रेखदेख, मर्मत तथा व्यवस्थापन गर्ने मुख्य अधिकार धरान खानेपानी व्यवस्थापन बोर्डसँग मात्र रहेको स्पष्ट गरे । उनले भने ‘बोर्डसँग समन्वय वा अनुमति बिना अन्य व्यक्ति वा समूहले खानेपानी क्षेत्रमा काम गर्नु अनधिकृत हुन्छ ।’

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।