
धरान : फागुन २१ गते हुने प्रतिनिधिसभा सुनसरी क्षेत्र १ का उम्मेदवार मनोज भट्टराईलाई नेपाल बसोबास बस्ती संरक्षण समाजको समर्थन र सहयोगको घोषणा गरेको छ। शनिबार धरान स्थित सन्ध्या इनमा पत्रकार सम्मेलन आयोजना गर्दे संरक्षण समाज सुनसरी अध्यक्ष थाम्सेर लिम्बुले सुकुम्बासी तथा भूमिहीनको समस्या समाधान गर्ने एक मात्र पार्टी नेपाली कम्युनिस्ट पार्टी भएको दाबी गर्दै पार्टीका उम्मेदवार मनोज भट्टराईलाई समर्थन रहेको प्रतिवद्धता गर्ने निर्णय सार्वजनिक गरेको हो।
लिम्बुले पुष्पकमल दाहाल प्रधानमन्त्री भएको कार्यकालमा सुकुम्बासी आयोग गठन भई घर नम्बर वितरण,लालपुर्जा प्रक्रिया सुरु भएको स्मरण गराउँदै सुकुम्बासी व्यवस्थापनमा नेकपाले ऐतिहासिक पहल गरेको बताए।
संरक्षण समाजले विज्ञप्ती जारी गर्दे सुनसरी–१ क्षेत्रमा रहेका करिब १४ हजार घरपरिवार भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा श्रमजीवी परिवारलाई लक्षित गर्दै नेकपा र उसका उम्मेदवार मनोज भट्टराईलाई मतदान गर्न आह्वान गरिएको छ।
नेपाल बसोबास बस्ती संरक्षण समाज सुनसरी अध्यक्ष थाम्सेर लिम्बु र धरान नगर अध्यक्ष आइत बहादुर लिम्बुद्वारा हस्ताक्षरित विज्ञप्तीमा भूमिहीन,स्वामित्वहिनता, शिक्षा–स्वास्थ्य र रोजगारीमा समान पहुँचको अभाव अन्त्य गर्न सुकुम्बासी मुक्त क्षेत्र निर्माण गर्ने स्पष्ट प्रतिबद्धता नेकपाले आफ्नो घोषणापत्रमै गरेकोले सुनसरी–१ मा मनोज भट्टराईलाई पूर्ण समर्थन गर्ने निष्कर्ष निकालिएको हो।
संस्थाका केन्द्रीय अध्यक्ष कुमार कार्कीले पनि देशव्यापी रूपमा नेकपाका उम्मेदवारहरूलाई समर्थन गर्न आह्वान गरेका छन्। विज्ञप्तीमा २०५७ सालदेखि सुनसरी जिल्लामा भूमिहीन अव्यवस्थित सुकुम्बासीका लागि भूमि सहितको सुरक्षित बास अधिकारको पक्षमा निरन्तर संघर्ष गर्दै आएको साझा संगठनका रूपमा नेपाल बसोबास बस्ती संरक्षण समाज परिचित छ। प्रजातन्त्रपछि ७ निर्वाचन, ३३ सरकार र १९ वटा सुकुम्बासी आयोग बने पनि राज्यले समस्या समाधान गर्न नसकेको उल्लेख गर्दै अब फास्ट ट्र्याक प्रक्रियाबाट बसोबासको आधारमा लालपुर्जा वितरण गर्ने नीति निर्माणको माग गरिएको छ।
भोगाधिकारको आधारमा स्थानीय तहको सिफारिस, जिल्ला नापी कार्यालयबाट नापजाँच र मालपोत कार्यालयमार्फत लालपुर्जा वितरण सुनिश्चित गरिनुपर्ने मागसमेत विज्ञप्तीमा समेटिएको छ। समाजले सुनसरी–१ का सम्पूर्ण सुकुम्बासी, मजदुर, किसान, युवा तथा न्यायप्रेमी मतदातालाई सामाजिक न्याय, समानता र सम्मानजनक आवास अधिकारको पक्षमा मतदान गर्दै नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज भट्टराईलाई विजयी गराउन हार्दिक अपिल गरेको छ।


