
धरान: नेपाल पुलिस स्कुल धरानका पूर्वविद्यार्थीहरूको आयोजनामा फागुन ९ गते शनिबार धरानमा दोस्रो पुलिस स्कुल स्वर्गीय पूर्वविद्यार्थी स्मृति फुटसल कप आयोजना हुने भएको छ।
स्वर्गीय पूर्वविद्यार्थीहरूको स्मृतिमा स्कुलको १९औँ ब्याचको आयोजनामा हुन लागेको प्रतियोगिता धरान–१६ स्थित गोर्खा फुट फुटसलमा सञ्चालन हुने नेपाल पुलिस स्कुल धरान पूर्वविद्यार्थी संघका अध्यक्ष सरोज बानियाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
प्रतियोगिता नकआउट र लिग प्रणालीमा दुई चरणमा सञ्चालन गरिनेछ। खेलकुद कार्यक्रम मात्र नभई यो प्रतियोगिता पूर्वविद्यार्थीहरूबीच संस्थागत, भावनात्मक सम्बन्ध सुदृढ गर्ने, स्मरण र पुनर्मिलनको साझा मञ्च बन्ने अध्यक्ष बानियाले बताए।
प्रतियोगितामा नेपाल पुलिस स्कुलबाट एसइई उत्तीर्ण गरेका विद्यार्थीहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
२०७३ देखि २०८० सालसम्म एसइई दिएका पूर्वविद्यार्थीहरू तथा स्टाफ सदस्यहरू समेत सहभागी हुने गरी ८ टिमको सहभागिता रहने जानकारी दिइएको छ।
प्रतियोगिताका विजेताले नगद २५ हजार,उपविजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफी, प्रमाणपत्र, मेडल प्राप्त गर्ने भएका छन ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता नगद १ हजार ५०५ रुपैयाँ उत्कृष्ट खेलाडी नगद १ हजार ५ रुपैयाँ ट्रफी र उत्कृष्ट गोलरक्षक नगद १ हजार ५ रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने भएका छन ।
पत्रकार सम्मेलनमा स्कुलका प्रमुख सुरेश कुमार हायु,प्रधानाध्यापक सहित पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

