
धरान : गेसोका अध्यक्ष कृष्णकुमार राई ले फागुन २१ गते हुने सुनसरी क्षेत्र नं १ को प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार हर्कराज साम्पाङ लाई लाहुरे समुदायको मत समर्थनबारे भ्रम मात्रै रहेको बताएका छन्।
सोमबार धरानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले साम्पाङको दाबीलाई अस्वीकार गर्दै लाहुरे समुदायको समर्थन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मनोजको पक्षमा रहने स्पष्ट पारे।
राईले भने,“लाहुरे समुदाय कुनै भ्रममा छैन। विकास, स्थायित्व र दीर्घकालीन सोच भएको नेतृत्वलाई आधार मानेर मत दिने निर्णय गरिएको छ। त्यसअनुसार हाम्रो समुदायको समर्थन नेकपा उम्मेदवार मनोजको पक्षमा केन्द्रित हुन्छ। हर्क साम्पाङले दाबी गरेजस्तो समर्थन उनलाई छैन।”
उनले लाहुरे समुदाय धरान र सुनसरी क्षेत्रको सामाजिक–आर्थिक विकास, सुशासन र स्थिर राजनीतिक नेतृत्व चाहने पक्षमा रहेको छ। यही कारण आगामी निर्वाचनमा लाहुरे समुदायको निर्णायक मत नेकपाको उम्मेदवार मनोजतर्फ जाने विश्वास उनले व्यक्त गरे।
भूतपूर्व गोर्खाहरू भ्रममा छैनन्,अधिकारका लागि सही नेतृत्व चयन गर्छन्। भुतपूर्व गोर्खा समुदाय कुनै पनि भ्रममा नरहेको स्पष्ट पारिको छ। समुदायका अगुवाहरूले गोर्खाहरू आफ्नो अधिकार प्राप्तिका लागि सचेत, संगठित र स्पष्ट सोचका साथ सही नेतृत्व चयन गर्ने बताए।
गोर्खा समुदायका हक–अधिकार, पहिचान र सम्मानका लागि निरन्तर रूपमा संघर्ष गर्दै आएको मुख्य राजनीतिक शक्ति नेकपा नै रहेको दाबी गरिएको छ।
समुदायका प्रतिनिधिहरूले भने,“भूतपूर्व गोर्खाहरू भ्रममा छैनन्। हामी आफ्नो अधिकार, सम्मान र भविष्य सुरक्षित गर्न सक्ने नेतृत्वको पक्षमा उभिन्छौँ। गोर्खाहरूको अधिकारका लागि संगठित रूपमा लड्ने शक्ति नेकपा नै हो।”
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार धरान क्षेत्रमा लाहुरे समुदायको मत निर्णायक मानिने भएकाले गेसो अध्यक्ष राईको अभिव्यक्तिले चुनावी समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ।
अध्यक्ष राई “ढुङ्गा बोकेर मात्र देश बन्दैन, देश बनाउने हो भने नीति, दृष्टिकोण र जिम्मेवार नेतृत्व चाहिन्छ,” भन्दै श्रम संस्कृति पार्टीले विकासका लागि व्यवहारिक योजना र दीर्घकालीन सोच आवश्यक रहेको स्पष्ट पारे। पार्टीका नेताहरूका अनुसार प्रतिकात्मक गतिविधि वा भावनात्मक नाराले मात्र राष्ट्र निर्माण सम्भव हुँदैन।
उनले भने,“देश बनाउने आधार शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र सामाजिक न्याय हो। त्यसका लागि संगठित राजनीतिक इच्छाशक्ति र स्पष्ट कार्ययोजना अपरिहार्य छ।”
अध्यक्ष राईले देशैभरि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माओवादी केन्द्र प्रति ठूलो जनलहर रहेको दाबी गर्दै भने,“प्रचण्ड को हुन् र के हुन् भन्ने कुरा बुझ्न जरुरी छ।”
धरानका मेयर हर्क साम्पाङका विषयमा बोल्दै राईले उनलाई मित्र र साथीको रूपमा लिने बताए। उनले भने,“उहाँ आफ्नो ढंगले काम गरिरहनुभएको छ, हामी आफ्नो ढंगले राजनीतिक संघर्ष गरिरहेका छौँ।”
साम्पाङले भूतपूर्व गोर्खाहरूको भोट आफूले पाउने भनी गरेको दाबीलाई राईले अस्वीकार गरे। राईले संसदमा पुगेपछि बेलायत सरकारसँग गोर्खाहरूको समस्या समाधानका लागि प्रखर रूपमा कुरा राख्ने र निर्णायक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
गेसो अध्यक्ष राईले भूतपूर्व ब्रिटिस गोर्खाहरूका दीर्घकालीन मागहरू पनि सार्वजनिक गरे। २२ वर्ष सेवा पूरा गरेका बेलायती गोर्खाले अन्य ब्रिटिस सिपाही सरह पूर्ण निवृत्तिभरण पाउनुपर्ने, १६ वर्ष सेवा गरेका गोर्खा अधिकृतले समान दर्जाअनुसार पूर्ण पेन्सन पाउनुपर्ने, १५ वर्ष सेवा गरेका गोर्खाले समानुपातिक निवृत्तिभरण पाउनुपर्ने,युद्धमा मृत्यु, घाइते र अशक्त भएका गोर्खाले ब्रिटिस सरह अपाङ्ग, विधवा र आश्रित पेन्सन पाउनुपर्ने, सन् १९७५ अघि बर्खास्त गरिएकालाई एकमुष्ठ क्षतिपूर्ति, सन् १९७५ पछि सेवा गरी पेन्सन नपाएकालाई सञ्चित पेन्सन, ब्रिटेनमा नेशनल इन्स्योरेन्स तिरेका गोर्खालाई स्टेट पेन्सन, ऐतिहासिक अन्यायको क्षतिपूर्ति, मृत्यु भइसकेका गोर्खाका सन्तानलाई ,नेपालमै समान मेडिकल सुविधा, ३० वर्ष माथिका सन्तानलाई बेलायती आवासीय हैसियत, भूतपूर्व गोर्खा र परिवारलाई ९० दिन नेपाल बसोबास सुविधा, गोर्खा पेन्सन नेपाल राष्ट्र बैंकमार्फत भुक्तानी व्यवस्था गर्नु पर्ने।
राईले यी सबै मागहरू आफू सांसद भएपछि मात्र संस्थागत रूपमा पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। राई नेकपाको समानुपातिक उममेदवार समेत हुन । सबै माग पुरा गर्न नेकपाको चुनाव चिन्ह तारामा मतदान गर्न गेसोका सम्पूर्ण परिवार र सदस्यहरुलाई आग्रह अनुरोध समेत गरे ।

