
धरान: नेपाली कम्युनिष्ट पार्टी धरान नगरको आयोजनामा ३१ औं जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
१० वर्षसम्म चलेको सशस्त्र जनयुद्धको स्मरण तथा सहिद र बेपत्ता परिवारप्रति सम्मान प्रकट गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय १ पिन्ट रगत सङ्कलन गरिएको नगर संयोजक उद्धव बहादुर लिम्बुले जानकारी दिए।
शुक्रबार सम्पन्न उक्त रक्तदान कार्यक्रम सुनसरी क्षेत्र नं १ का नेकपा उम्मेदवार मनोज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै उम्मेदवार भट्टराईले १० वर्षे जनयुद्धकै कारण देशमा ऐतिहासिक परिवर्तन सम्भव भएको उल्लेख गरे। उनले जनयुद्धपछि दलित, महिला तथा जनजाति समुदायका नागरिकहरू स्थानीय तहका सबै वडामा प्रतिनिधित्व गर्ने अवसरमा पुगेको बताउँदै समावेशी लोकतन्त्रको जग बसेको दाबी गरे।
उनले राजनीतिक परिवर्तन केवल सत्ता परिवर्तन मात्र नभई सामाजिक न्याय, समानता र अवसरको समान पहुँच सुनिश्चित गर्ने प्रक्रियाको सुरुवात भएको भन्दै आगामी दिनमा ती वर्गहरूको अधिकार संस्थागत रूपमा सुरक्षित गर्न आफू प्रतिबद्ध रहेको बताए।
धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख तथा नेकपाका प्रदेश सचिवालय सदस्य अईन्द्र विक्रम बेघाले जनयुद्धले नेपाली समाजमा आत्मसम्मान, अधिकार र समानताको बीउ रोपेको बताए।
उनले संसदमा महिलाहरूको बाक्लो उपस्थिति सुनिश्चित हुनु तथा निजामती सेवाको अधिकृत तहसम्म दलित र जनजाति समुदायका लागि कोटा व्यवस्था हुनुलाई १० वर्षे जनयुद्धका प्रत्यक्ष उपलब्धिका रूपमा व्याख्या गरे।
उनले सामाजिक रूपान्तरण, समावेशी प्रतिनिधित्व र अधिकारको संस्थागत विकास जनयुद्धपछिको राजनीतिक परिवर्तनको मुख्य उपलब्धि भएको उल्लेख गर्दै ती उपलब्धिलाई अझ मजबुत बनाउँदै लैजानु आजको आवश्यकता रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा केन्द्रीय सदस्यहरु किरण राई,जीवन राई,उमिता बराइली,मुक्साहाङ मेन्याङबो मुकेश, जिल्ला सदस्यहरू तथा विभिन्न जनवर्गीय सङ्गठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

