
धरानः धरान रंगशालामा जारी २६औँ बुढासुब्बा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंले लालिगुराँस फुटबल क्लब पोखरालाई २–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
प्लानिङ ब्वाइजले आज बुधवार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लालिगुराँस विरुध्द जित हात पारेको हो।
खेलको छैठोैं मिनेटमा लालिगुराँसका इस्कान्दर सिदिकीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको १४औँ मिनेटमा प्लानिङ ब्वाइजका विलियम एलेक्सले एकल प्रयासमा गोल गर्दै बराबरी फर्काए।
यसपछि दोस्रो हाफकै ४१औँ मिनेटमा एलेक्सकै पासमा प्रताप सिंह राईले गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
खेलको ‘म्यान अफ द म्याच’ प्लानिङ ब्वाइजका प्रताप सिंह राई घोषित भए। उनले नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
भोली हुने दोस्रो सेमिफाइनल खेल झापा ११ झापा र लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौंबीच हुने आयोजकले जानकारी दिएको छ।
प्लानिङ ब्वाइज युनाइटेड काठमाडौं रलालिगुराँस फुटबल क्लब पोखरा दुवै टोली पहिलो पटक बुढासुब्बा गोल्डकप खेल्न धरान आएका हुन्।

