
मोरङ: दिनप्रतिदिन युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य भइरहेको वर्तमान अवस्थामा केही स्थानीय तहहरूले भने युवालाई गाउँमै सीपमूलक तालिम दिई स्वदेशमै आत्मनिर्भर बनाउने प्रयासलाई तीव्रता दिएका छन् । विशेषगरी युवा महिलालाई लक्षित गर्दै स्थानीय सरकारले स्वरोजगारमूलक तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यही क्रममा केराबारी गाउँपालिका, मोरङले उपाध्यक्षसँग युवा महिला लक्षित सीप विकास कार्यक्रम अन्तर्गत स्थानीय स्रोत–साधनको प्रयोग गरी प्राकृतिक जडिबुटीबाट साबुन बनाउने पाँचदिने तालिम सफलतापूर्वक सम्पन्न गरेको छ ।
स्थानीय स्तरमा पाइने निम, तितेपाती तथा कोइलाजस्ता जडिबुटीको सदुपयोग गर्दै साबुन उत्पादन गर्ने विषयमा केन्द्रित तालिममा २० जना महिला सहभागी थिए । तालिमको सहजीकरण मनाभरा रिसर्च सेन्टरकी सदस्य मनिता घिमिरेले गर्नुभएको थियो ।
तालिम समापन तथा उद्घाटन कार्यक्रम केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठको उपस्थिति रहेको थियो भने कार्यक्रम मनाभरा रिसर्च सेन्टरकी सदस्य मनिता घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष मनमाया मगरले महिलालाई स्थानीय स्तरमै यस्ता व्यावहारिक र आयआर्जनसँग जोडिएका तालिम प्रदान गर्न सके उनीहरू स्वरोजगार बन्न सक्ने बताउनुभयो । उहाँले स्थानीय सरकार मात्र होइन, संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले यस्ता कार्यक्रमका लागि बजेट छुट्याई दीर्घकालीन रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै, तालिमकी सहजीकरण मनिता घिमिरेले हेर्दा सानो जस्तो देखिए पनि यो तालिम भविष्यसँग जोडिएको स्पष्ट पार्नुभयो । उहाँले तालिमलाई केवल तालिममै सीमित नराखी सहभागी महिलाहरूले व्यवहारमा उतारेर भरपूर सदुपयोग गर्न आग्रह गर्नुभयो ।
स्थानीय स्रोत–साधनको प्रयोग, सीप विकास र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस तालिमले गाउँमै रोजगारी सिर्जना र महिलाको आर्थिक सशक्तीकरणमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

