
धरानः धरान–धनकुटा राजमार्गको धनकुटा प्रवेश नाका धरान १३ जिरो प्वाइन्छ अमरहाट क्षेत्रमा पटक पटक सवारी दुर्घटना भई स्थानियबासीको समेत मृत्यु हुने गरेकोले नियन्त्रणको उपाय अपनाउन स्थानिय समुदायले माग गरेका छन् ।
हालै मात्र माघ ४ गते दिउँसो साढे ३ बजे भेडेटारबाट आउँदै गरेको बस जिरोपोइन्ट चोकमा दुर्घटना हुँदा घटनास्थलमै ५ जनाको मृत्यु भएको थियो । १२ जना घाइते भए । मृत्यु हुनेमा स्थानिय व्यक्ति समेत भएकोले सरोकारवालाहरु चिन्तित बनेका हुन ।
सडक बने यता पटक पटक भएका सवारी दुर्घटनामा स्थानियको मृत्यु हुँदै आएकाले राजनीतिक दलको वडा इकाई, टोल विकास सहित १९ वटा संस्थाहरुले बुधबार संयुक्त रूपमा धरान–१३ वडा कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
दुर्घटना नियन्त्रणको माग लिएर पुगेका सरोकारवालाहरुसंग वडाध्यक्ष नेत्र काफ्लेले धरान उपमहानगरपालिका, सडक विभाग, इलाका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयसँग पत्राचार र समन्वय गरेर प्रभावकारी उपायको खोजी गरिने आश्वासन दिएका छन् ।
स्थानीयले जिरोपोइन्ट क्षेत्रमा गति नियन्त्रण संरचना, ट्राफिक प्रहरीको स्थायी निगरानी, सडक चौडाइ विस्तार, स्पष्ट संकेत चिह्न, जेब्रा क्रसिङ तथा सवारीको नियमित प्राविधिक जाँच व्यवस्था तत्काल लागू गर्न माग गरेका छन् ।
धरान–धनकुटा सडकको जिरोपोइन्ट उक्त स्थानिमा सडक सञ्चालनमा आएको ४ दशकमा १९ जनाको मृत्यु भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । दैनिक करिब १ हजार भन्दा धेरै सवारीको चाप रहने सडकको उक्त स्थान जाँदा आउँदा ठाडो उकालो–ओरालो बनावट, वैकल्पिक मार्गको अभाव, साँघुरो सडकका कारण दुर्घटना हुने गरेकोमा ध्यानाकर्षण गराइएको छ ।
सोही क्षेत्रमा सरकारी कार्यालय, संघ–संस्था, विद्यालय तथा मनोरञ्जन पार्क रहेकाले सवारी चाप र जनघनत्व थप बढ्ने गरेकोले उक्त स्थानलाई सम्बेदनशील क्षेत्र घोषित गरिनु पर्ने उनिहरले माग गरेका छन् ।
ज्ञापनपत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्यूनिष्ट पार्टि, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृती पार्टि, जिरोपोईन्ट सरोकार समाज, जानकी टोल सुधार समिति, सूर्य उदय स्वस्तिका गौरा टोल विकास संस्था, सूर्य उदम टोलका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।
साथै जनजागृती सेवा समाज, अमर सेवा समाज, पूर्व सेवा समाज, अनाम टोल सुधार समिति, शिवधारा टोल विकास संस्था, राईटोल यूवा क्लब, धरान स्पॉटिश काल, कृष्ण प्रणामी मन्दिर, देवि मार्ग टोल विकास संस्था लगायतका अध्यक्षहरुले हस्ताक्षर गरेका छन ।

