धरान विशेष

सुनसरी–१ मा १ लाख ५० हजारभन्दा बढी मतदाता, सबैभन्दा कान्छा उम्मेदवार २९ वर्षीय राजकुमार लिम्बु

धरान: प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय, सुनसरी निर्वाचन क्षेत्र नम्बर १ ले यस क्षेत्रमा १ लाख ५० हजार ३९३ मतदाता रहेको जानकारी दिएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनसम्बन्धी समग्र विवरण सार्वजनिक गर्दै सुनसरी–१ अन्तर्गत ४९ मतदानस्थल र १८१ मतदान केन्द्र रहेको जनाएको हो।
प्रमुख निर्वाचन अधिकृत दिव्यराज घिमिरेले निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलबाट १९ जना र ७ जना स्वतन्त्र गरी जम्मा २६ जनाले मनोनयन दर्ता गराएको जानकारी दिएको छ ।मनोनयन दर्ता गर्ने पहिलो उम्मेदवार नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठ रहेका छन् भने अन्तिम मनोनयन मितेरी पार्टी नेपालका रक्षा कुमार राईले दर्ता गराएका जानकारी प्रमुख निर्वाचन अधिकृत घिमिरेले दिए ।
उम्मेदवारहरू मध्ये सबैभन्दा कान्छा उम्मेदवार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका २९ वर्षीय राजकुमार लिम्बु रहेका छन् भने सबैभन्दा जेष्ठ उम्मेदवार राष्ट्रिय साझा पार्टीकी ६८ वर्षीया भुपी राई रहेको प्रमुख निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।
पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन अधिकृत घिमिरेले हाल उम्मेदवारहरूलाई प्रचार–प्रसार गर्न नपाइने स्पष्ट पारे। उम्मेदवारहरूले फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र प्रचार–प्रसार गर्न पाउनेछन्।उनले भने, “उम्मेदवारले व्यक्तिगत रूपमा घरदैलो गर्दै भोट माग्न पाउँछन्, तर हुलहुज्जत गर्दै बाजा बजाउँदै प्रचार गर्न पाइँदैन। यस विषयमा अनुगमन र नियमन गरिन्छ।”
निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि शान्तिपूर्ण, निष्पक्ष र कानुनसम्मत रूपमा सम्पन्न गरिने जनाएको छ।
सुनसरी–१ निर्वाचन क्षेत्रमा धरान उपमहानगरपालिकाका २० वटै वडा, बराहक्षेत्र नगरपालिकाका वडा नम्बर १ देखि ५ तथा रामधुनी नगरपालिकाका वडा नम्बर ६ र ७ समावेश रहेका छन्।
निर्वाचन कार्यक्रमअनुसार माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, कर्मचारी नियुक्ति तथा निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो। माघ ३ गते सर्वदलीय बैठक बस्ने निर्णय गरिँदै सम्बन्धित निकायलाई जानकारी गराइएको थियो।
त्यसैगरी माघ ४ गते सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्ने, आचारसंहिता पूर्ण रूपमा पालना गर्ने तथा मनोनयन दर्ता प्रक्रिया व्यवस्थित गर्ने सहमति गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
माघ ५ गते आवश्यक अनुसूचीसहित मनोनयन पत्र वितरण गरिएको थियो भने माघ ६ गते मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको थियो।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।