
धरान: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट सुनसरी क्षेत्र नं १ मा मनोज भट्टराई जिताऔँ अभियान अन्तर्गत घरदैलो कार्यक्रम सुरु भएको छ।
आइतबार बिहान उम्मेदवार सुर्यबहादुर भट्टराई ‘मनोज’ले धरान उपमहानगरपालिका–१४ स्थित करमडाँडाबाट घरदैलो अभियानको औपचारिक सुरुवात गरेका हुन्।
घरदैलो अभियानका क्रममा भट्टराईले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा र भावी योजनाबारे जानकारी गराएका छन्। जनताका समस्या नजिकबाट बुझ्दै समाधानमुखी राजनीति गर्ने प्रतिबद्धता उनले दोहोर्याए।
निर्वाचन मिति नजिकिँदै जाँदा सुनसरी–१ मा चुनावी सरगर्मी बढ्दो छ। घरदैलोका क्रममा जनतालाई सम्बोधन गर्दै भट्टराईले आफू एकता, सद्भाव र विकासको स्पष्ट एजेन्डासहित चुनावी मैदानमा उत्रिएको बताए। उनले धरानको दीर्घकालीन खानेपानी समस्याको समाधानलाई प्रमुख राजनीतिक एजेन्डा बनाएको उल्लेख गरे।
स्थानीय राजनीतिमा सक्रिय भट्टराईले हिजोका नेतृत्वबाट अपेक्षित परिणाम नआएकै कारण जनता नयाँ विकल्प खोजिरहेको दाबी गरे। उनले धरान–१४ लाई धार्मिक तथा ऐतिहासिक वडाको रूपमा घोषणा गर्ने योजना प्राथमिकतामा रहेको जनाउँदै यसले वडाको पहिचान मजबुत हुनुका साथै पर्यटन र स्थानीय विकासमा टेवा पुग्ने बताए।
सुकुम्वासी समस्या दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता
सुकुम्वासी समस्याबारे बोल्दै भट्टराईले यसलाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा जोड दिए।
नयाँ सुकुम्वासी थपिन नदिने र हाल रहेका सुकुम्वासीहरूको उचित व्यवस्थापन गर्ने नीति लिइने उनले बताए।आफ्नो कार्यकालमा घर नम्बर, खानेपानी र बिजुली जस्ता आधारभूत सुविधाको सुरुआत गरिएको स्मरण गराउँदै व्यवस्थित बस्ती विकासतर्फ आफू प्रतिबद्ध रहेको स्पष्ट पारे।
मेयर हर्क साम्पाङसँगको सम्बन्धबारे भट्टराईले व्यक्तिगत इगो नभई वैचारिक र कार्यशैलीगत असहमति मात्र रहेको प्रष्ट पारे। साम्पाङको खराब कार्यशैलीको मात्र आलोचना गरिएको र कुनै व्यक्तिगत आक्षेप नरहेको उनको भनाइ छ।

