
धरान: धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले आफ्नो कार्यकालमा कुनै पनि पत्रकारमाथि दुर्व्यवहार, अपमान वा गालीगलौज हुन नदिने स्पष्ट प्रतिबद्धता जनाएका छन्।
प्रेस सेन्टर नेपाल, सुनसरीका अध्यक्ष तिर्थ कार्कीसहितको प्रतिनिधिहरुले बिहीबार कार्यवाहक नगर प्रमुख बेघालाई बधाई तथा सम्मान गर्दै चारबुँदे अनुरोध पत्र बुझायो ।
अनुरोधपत्र ग्रहण गर्दै नगर प्रमुख बेघाले धरानमा पत्रकार सुरक्षालाई प्राथमिकतामा राखिने र प्रेसमाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार अन्त्य गरिने स्पष्ट अडान व्यक्त गरे। उनले भने“‘अघिल्लो नगरप्रमुख कर्ह साम्पाङले गरेको दुवर्यवहार म बाट हुदैन ।’ढुक्क हुनुस पत्रकारिता क्षेत्रप्रति सम्मानजनक र मैत्रीपूर्ण व्यवहार सुनिश्चित गर्छु ।”
नगर प्रमुख बेघाले सञ्चार गृहलाई प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापन तथा रोकिएका सुविधाहरू पुनः सुचारु गरिने जानकारी दिए। साथै पत्रकारका लागि फेलोसिप (लेखन–वृत्ति) जस्ता प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे। स्थानीय सञ्चार माध्यमको संरक्षण र सुदृढीकरणका लागि नेपाल पत्रकार महासंघ र प्रेस सेन्टरसँग समन्वय गरी ठोस योजना बनाइने पनि उनले बताए।
नेपालको संविधानअनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गरिने उल्लेख गर्दै नगर प्रमुख बेघाले सरकारलाई सही दिशामा हिँडाउन पत्रकारको भूमिका महत्वपूर्ण रहेको धारणा राखे।
पत्रकार गोपाल दाहाल धरानबाट विस्थापित हुनुपरेको घटनालाई लज्जास्पद र दुर्भाग्यपूर्ण ठहर गर्दै नगर प्रमुख बेघाले यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले पत्रकारहरूलाई उपमहानगरपालिका भित्र रहेका विकृति र विसंगतिहरू निर्धक्क रूपमा सार्वजनिक गर्न आग्रहसमेत गरे।
“उपमहानगरपालिकाले खाएको एक कप चियाको हिसाबसमेत नागरिकले थाहा पाउनुपर्छ,” भन्दै नगर प्रमुख बेघाले पूर्ण पारदर्शितामा जोड दिए। कुनै पनि शाखा वा महाशाखाबाट जनतालाई दुःख दिने काम भएको प्रमाणसहित जानकारी आए तत्काल कारबाही गरिने उनको भनाइ थियो।
प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जनकऋषि राईले पनि पत्रकार गोपाल दाहाल विस्थापित हुनुपरेको घटनाप्रति आपत्ति जनाउँदै यस्ता घटना दोहोरिन नदिन स्थानीय सरकार गम्भीर हुनुपर्ने बताए।
यसैबीच, प्रेस सेन्टर नेपाल, सुनसरीले विगतमा पत्रकारमाथि भएको गालीगलौज र धम्कीपूर्ण व्यवहारले प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाएको उल्लेख गर्दै लोककल्याणकारी विज्ञापन पुनः सञ्चालन, पत्रकार फेलोसिपको निरन्तरता र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न स्थानीय सरकारसँग माग गरेको छ।

