
धरान: स्वर्गीय रेवाहाङ रुछेन्वुङ राईको स्मृतिमा आयोजना गरिएको चौथो अन्डर–१८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा हिमशिखर बोर्डिङ स्कुल र पूर्वाञ्चल बोर्डिङ स्कुल, तरहरा आमनेसामने हुँदैछन्।
धरान मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा सुरु भएको प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अईन्द्र बिक्रम बेघाले गरे। उद्घाटन समारोहमा बोल्दै बेघाले धरानलाई ‘खेलकुद शहर’का रूपमा स्थापित र जोगाइराख्न सरकारको पहल मात्र पर्याप्त नहुने बताए ।
कार्यवाहक नगरप्रमुख बेघाले धरानलाई ‘खेलकुद राजधानी’ बनाउन समुदाय, परिवार, विद्यालय र खेल संस्थाहरूको निरन्तर लगानी र सहभागिता अपरिहार्य रहेको उल्लेख गरे।
धरानलाई प्रायः ‘खेलकुद शहर’ भनेर चिनिए पनि यसको वास्तविक आधार स्थानीयस्तरमै विकसित खेल संस्कार, अभिभावकको साथ र समुदायको समर्पण रहेको बताए । खेलकुद विकास दीर्घकालीन प्रक्रिया भएकाले निरन्तरता नै यसको सबैभन्दा ठूलो शक्ति भएको बेघाले जोड दिए।
बेघाले ‘रेवाहाङ स्मारक’ प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको परिवारप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता स्मारक प्रतियोगिताले नयाँ पुस्ताका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
वार्षिक रूपमा प्रतियोगिता निरन्तर हुनु नै धरानको खेलकुद पहिचान जोगाउने आधार भएको उनको भनाइ थियो।
खेलाडीहरूलाई जित–हारभन्दा सिकाइमा ध्यान दिन आग्रह गर्दै उनले कोही खेलाडी जित्ने र कोही सिकेर अगाडि बढ्ने उल्लेख गरे।
अन्तिम उद्देश्य भने बास्केटबललगायत खेलमार्फत धरान र नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु रहेको बताए। साथै खेलकुदको दिगो विकासका लागि स्थानीय सरकार, शैक्षिक संस्था र नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सामूहिक लगानी र निरन्तर प्रयासबिना ‘खेलकुद राजधानी’को छवि जोगाउन कठिन हुने धारणा राखे।
धरान–१५ का वडा अध्यक्ष नरेश इवारमले धरानलाई खेलकुदको हबका रूपमा विकास गर्ने लक्ष्यसहित खेलकुद विकास समिति गठनमा जोड दिए। उनले निर्वतमान नगरप्रमुख हर्क साम्पाङको कार्यकालमा चार वर्षसम्म खेलकुद विकास समिति गठन हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे ।
वडा अध्यक्ष इवारमका अनुसार धरानलाई खेलकुदको हबका रूपमा चिनिए पनि समिति नहुँदा खेलकुद क्षेत्रमा छुट्टिने वार्षिक करिब १ करोड रुपैयाँ बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन।
आगामी आर्थिक वर्ष २०८३ र ८४ को बजेटमार्फत खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखी रोकिएका क्रिकेट ग्राउण्ड र मल्टिपर्पोज स्टेडियमजस्ता पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उनले बताए ।
सुशासनबारे बोल्दै वडा अध्यक्ष इवारमले सुशासन भनेको केवल भ्रष्टाचार नगर्नु मात्र नभई समयमै सेवा प्रवाह गर्नु, पदको दुरुपयोग नगर्नु र जनउत्तरदायी बन्नु पनि भएको उल्लेख गरे। विगतका कमजोरीहरू सुधार गर्दै आगामी दिनमा भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही ढङ्गले काम गर्ने प्रतिबद्धता आवश्यक रहेको छ।
प्रतियोगितामा सुनसरी, मोरङ र झापाका विद्यालयहरू सहभागी छन्। सहभागी टिमहरूमा हिमशिखर बोर्डिङ स्कुल, पूर्वाञ्चल स्कुल, सुष्मा कलेज, सुकुना कलेज, लोटस स्कुल, नास्ट कलेज, धरान आदर्श स्कुल, धरान मेघा कलेज ‘ए’ र ‘बी’, डिपो स्कुल, होलील्याण्ड इन्टरनेशनल स्कुल, क्यारेमल उच्च माध्यमिक स्कुल र विद्या भूषण स्कुल रहेका छन्।
विजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता रेवाहाङ स्मृति प्रतिष्ठान, सुनसरी बास्केटबल सङ्घ र धरान मेघा हिमालयन कलेजको संयुक्त आयोजनामा भइरहेको हो। प्रतिष्ठानका अध्यक्ष रेवती रमण राईले “रेवाहाङको अधुरो सपना पूरा गर्न र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको हो ।”
स्वर्गीय रेवाहाङ राईको २०७७ माघ २० गते १६ वर्षको उमेरमा निधन भएको थियो। उहाँका अभिभावकले उनको सम्झनामा अक्षय कोष स्थापना गरी प्रतियोगिता सुरु गरेका हुन्। मेघा हिमालयन कलेजका प्रिन्सिपल भास्कर पौडेलले यस वर्ष पुरस्कार राशि ५ हजार रुपैयाँले वृद्धि गरिएको र अक्षय कोषमा हाल दुई लाख रुपैयाँ रहेको जानकारी दिए।

