
धनकुटा: कोशी प्रदेशकै चर्चित पर्यटकीय गन्तव्य भेडेटारमा १३ औँ संस्करणको भेडेटार फुड फेस्टिवल आगामी पुस १६ गतेदेखि १८ गतेसम्म आयोजना हुने भएको छ । होटल एशोसिएसन भेडेटारले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–६ मा अवस्थित भेडेटार समुद्री सतहबाट १ हजार ४ सय २० देखि १ हजार ७ सय ५ मिटर उचाइमा फैलिएको रमणीय पर्यटकीय स्थल हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको भेडेटार एकदेखि दुई दिनसम्म घुम्न र बस्न उपयुक्त गन्तव्यका रूपमा परिचित छ । अन्तर्राष्ट्रिय सर्भेक्षणहरूले समेत विश्वका घुम्नैपर्ने गन्तव्यहरूमा भेडेटारको नाम उल्लेख गरेपछि यस क्षेत्रको पर्यटन चर्चा अझ व्यापक बन्दै गएको आयोजकले जनाएको छ ।
फुड फेस्टिवल भेडेटार चौकदेखि काम्फेक थुम्की, नाम्जे तथा नमस्ते झरनासम्म फैलिनेछ । फेस्टिवलमार्फत स्थानीय जातीय तथा अर्गानिक खानाका परिकार, कृषि उत्पादन, हस्तकला तथा घरेलु उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । यस पटकको फुड फेस्टिवललाई अझ पर्यटनमैत्री बनाउने लक्ष्य रहेको आयोजक होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिएका छन ।
आयोजकका अनुसार फेस्टिवलको अल्पकालीन लक्ष्य करिब २ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार गर्नुका साथै ५० देखि ६० हजार पर्यटक भित्र्याउने रहेको छ । दीर्घकालीन रूपमा भने पर्यटन, होटल व्यवसाय, होमस्टे, कृषि, सांस्कृतिक तथा सामाजिक क्षेत्रको समग्र विकासमा टेवा पुर्याउने लक्ष्य लिइएको छ ।
भेडेटारको मनमोहक दृश्यसँगै हरेक वर्ष आयोजना हुने फुड फेस्टिवलमा विशेषगरी भारतीय पर्यटकको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको पाइन्छ । भारतसँगको नजिकको दूरी र आकर्षक प्राकृतिक गन्तव्य भएकाले भारतमा समेत भेडेटारबारे चर्चा बढ्दै गएको भारतीय पत्रकार पूजा मित्रकोे भनाइ छ ।
आयोजकका अनुसार फेस्टिवलमा राई, लिम्बु, मगर, गुरुङ, तामाङ, वाम्फु तथा नेवारी समुदायका जातीय परिकारहरूको प्रदर्शनी, स्थानीय अर्गानिक तरकारी तथा फलफूल, हस्तकला र घरेलु उत्पादनका स्टल रहनेछन् । साथै मौलिक सांस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, माउन्टेन बाइक, प्याराग्लाइडिङ र जिपलाइन जस्ता साहसिक गतिविधि पनि समेटिने एसोसिएनका सचिव रमेश श्रेष्ठले जानकारी दिनुभयो ।
फेस्टिवल अवधिमा स्काई वाक, शैलुङडाँडा (चाल्र्स भ्यू टावर), पाथिभरा देवी मन्दिर, नाम्जे होमस्टे, नमस्ते झरना, साँगुरीगढी (सायोक यक), ओख्रे भ्यू टावर, ध्वजे डाँडा सूर्योदय भ्यू पोइन्ट लगायत भेडेटार आसपासका प्रमुख पर्यटकीय स्थलहरूको समेत व्यापक प्रचार–प्रसार गरिने आयोजकको भनाइ छ । फेस्टीबल समय अवधीमा होटलहरुले १० प्रतिशत छुट दिने जनाएको छ।

