
धरान: धरान स्थित संस्थागत निजी विद्यालयहरूमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरूलाई लक्षित गर्दै प्याब्सन र एन प्याब्सन धरानको संयुक्त रूपमा ट्र्याक एण्ड फिल्ड प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिता पौष १० गतेदेखि धरान–१६ रङ्गशालामा सुरु हुने कार्यक्रम संयोजक राजेन्द्र गुरुङले मङ्गलवार पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्।
गुरुङले धरान खेलकुदको सहर भनेर चिनिए पनि धरानमा एथलेटिक्सका लागि पर्याप्त खेलमैदान नरहेको बताए । उनले भने‘‘एथलेटिक्स खेल खेल्न कम्तीमा २०० मिटरको ट्र्याक चाहिन्छ,तर धरानमा छैन।’
प्रतियोगितामा हरेक विद्यालयबाट ३२ जना विद्यार्थी मात्र सहभागी हुन पाउने छन् र एक विद्यार्थीले अधिकतम २ वटा खेलमा मात्र भाग लिन सक्नेछन्। १०० मिटर दौडिनेले २०० मिटर दौडमा भाग लिन पाउने छैन । उसले केवल १०० ईस्टु रिले, लङ जम्प वा शुटपुट थ्रो मा भाग लिन सक्ने छन्।
प्रतियोगितामा सिर्फ संस्थागत विद्यालयका विद्यार्थीहरू सहभागी हुन पाउनेछन्। प्रत्येक विद्यालयले ३ हजार रुपैयाँ सहभागीता शुल्क तिर्नुपर्नेछ। प्रतियोगितामा ट्रायक इभेन्ट अन्तर्गत १०० मिटर दौड,२०० मिटर दौड, १०० ईस्टु रिले र फिल्ड इभेन्ट अन्तर्गत लङ जम्प वा शुटपुट थ्रो सञ्चालन हुनेछ। हरेक प्रतियोगितामा ४ जना छात्र ४ छात्रा मात्र भाग लिन पाउनेछन्। विजयी खेलाडीलाई प्रमाणपत्र र मेडल प्रदान गरिनेछ भने कुल अङ्कको आधारमा उत्कृष्ट विद्यालय घोषणा गरिनेछ। प्रतियोगिताले विद्यार्थीहरूमा शारीरिक तन्दुरुस्ती, आत्मविश्वास, अनुशासन र सहकार्यको भावना विकास गर्ने विश्वास आयोजकले लिएका छन्। प्रतियोगिता पौष १० गते बिहान ८ बजे सुरु भई ११ गते दिउँसो ४ बजे समापन हुने छ।

