
स्व. कबिर राजभगतलाई मरणोपरान्त सम्मान, राजुकाजी शाक्यलाई अभिनन्दन
धरान: खेलकुदको शहरका नामले परिचित धरानमा पहिलो पटक बृहत खेलकुद महोत्सवको बिहिबार औपचारिक उद्घाटन भएको छ।
महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी फुटबलका लेजेन्ड राजुकाजी शाक्यले उद्घाटन गरे। उद्घाटन समारोहमा धरान खेलकुद मञ्चले शारीरिक सुगठनका प्रखर व्यक्तित्व स्वर्गीय कबिर राजभगतलाई मरणोपरान्त सम्मान गरेको छ। साथै प्रमुख अतिथी शाक्यलाई नगद २५ हजारसहित अभिनन्दन पत्रले मञ्चका अध्यक्ष किशोर राईले अभिनन्दन गरे ।
मङ्सिर २५ देखि पुस १० गतेसम्म धरान रंगशाला–तल्लो मैदानमा सञ्चालन हुने १५ दिने महोत्सव धरानलाई खेलकुदको शहरका रूपमा चिनाउने पहिलो प्रयास भएको अध्यक्ष राईले बताए। उनले सरकारी स्तरबाट पर्याप्त चासो नपाएपछि खेलाडीहरूले नै सक्रिय पहल गर्दै महोत्सव आयोजना बताए।
उद्घाटन समारोहसँगै प्रमुख अतिथी सहित खेलाडीहरूले धरानलाई ‘खेलकुदको शहर’ घोषणा गरेका छन।
धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघाले धरानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै खेलाडी जन्मिएको उल्लेख गर्दै धरानलाई खेलकुदको शहरका रूपमा औपचारिक मान्यता दिलाउन सबै तह–तप्काको सहकार्य आवश्यक रहेको बताए।
महोत्सवमा सशुल्क खेलकुदसम्बन्धी विभिन्न खेल खेल्न मिल्ने थिम स्टलहरू राखिएका छन्। प्रत्येक साँझ सांस्कृतिक तथा सांगीतिक कार्यक्रम हुनेछ। साथै आगन्तुकहरूका लागि आदिवासी–जनजातीय परिकारका खानपान स्टलहरूको व्यवस्था गरिएको छ।
महोत्सव अवधिभर पूर्व–वर्तमान सर्वश्रेष्ठ खेलाडी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय ओलम्पियनहरूले जितेका पदक तथा खेल सामग्रीहरू विशेष प्रदर्शनीमा राखिएका छन। फुटबल, मिनी गल्फ, सुटिङ, बास्केटबल, हक्की, डोरी तान, आर्चरीलगायतका थिम स्टलहरू पनि रहने महोत्सवले धरानलाई खेलकुदको शहरका रूपमा देश–विदेशमा चिनाउने अपेक्षा गरिएको छ।

