
धरान: धरान उप-महानगरपालिका व्यापी विद्यालय स्तरीय गायन प्रतियोगिता ‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन–२ सोमबार धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भएको छ। -याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका १४ जना प्रतिस्पर्धी सहभागी भएका थिए।
प्रतियोगितामा पब्लिक माध्यमिक विद्यालय, फुस्रेका ह्यापिसन लिम्बूले उत्कृष्ट प्रस्तुति दिँदै बिजेता बनेका छन्। लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशी भुजेल फस्ट रनर अप घोषित भइन् भने बिजयपुर माध्यमिक विद्यालयकी मेलिसा बराईली सेकेन्ड रनर अप र डिपोट माध्यमिक विद्यालयकी प्रज्ञा राई थर्ड रनरअफ बने।
प्रतियोगितामा सहभागी विद्यार्थीहरु विभिन्न उप–शीर्षक मार्फत पनि सम्मानित गरिएका थिए। सुनाखरी एकेडेमीका अर्मन श्रेष्ठलाई बेस्ट भोकल, मेरील्यान्ड इङ्लिस बोर्डिङकी नितु तामाङलाई मस्ट एक्टिभ, जेम सेकेन्डरी इङ्लिस स्कुलकी जेनिशा राई लाई मस्ट पन्चुअल तथा बिजयपुर माध्यमिक विद्यालयका बिबेक बिशुन्खेलाई मस्ट डिसिप्लिन उप–शीर्षक प्रदान गरियो।
त्यसैगरी, पर्फेक्ट पिच जेनिथ इङ्लिस स्कुलका इस्मान गजमेर, बेस्ट परफमेन्स हिबिस्कस इङ्लिस बोर्डिङ्का सबिन बोहोरा, बेस्ट प्रेजेन्टेसन बिष्णु मेमोरियलकी सुमेधा घिमिरे, इन्करेजमेन्ट अवार्ड ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुलकी सृष्टि तामाङ, बेस्ट रिदम च्याम्पियन सेकेन्डरी बोर्डिङका सागर गजमेर, तथा बेस्ट सङ सेलेक्शन शिक्षा सन्देश सेकेन्डरी स्कुलका अभिषेक रसाइलीले प्राप्त गरे।
विजेता तथा उप–शीर्षक विजेताहरुलाई धरान उप–महानगरपालिकाका उप–मेयर अइन्द्र विक्रम बेघा, हास्यकलाकार तथा अभिनेता गणेश इसारा राई, समाजसेवी नवीन राईलगायतले प्रमाणपत्र वितरण गरे। प्रमुख अतिथि बेघाले गायनमा रुचि भएका विद्यार्थीलाई यस्ता कार्यक्रमले आत्मविश्वास बढाइरहेको उल्लेख गर्दै भविष्यमा अझ सफलताको कामना गरे।
प्रतियोगिताका निर्णायकमा संगीतकर्मी प्रशान्त शर्मा र बिनायक राई रहेका थिए। आयोजक र्याडिकल लाइट नेपाल प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीका अनुसार धरानका प्रतिभावान विद्यार्थीहरुलाई मञ्च प्रदान गर्ने उद्देश्यले प्रतियोगिता हरेक वर्ष आयोजना गरिँदै आएको हो। उनले प्रतिभाको निष्पक्ष मूल्यांकनका लागि भोटिङ सिस्टम हटाई शत प्रतिशत निर्णायकको निर्णयलाई आधार बनाइएकाले वास्तविक प्रतिभा पहिचान हुनसक्ने विश्वास व्यक्त गरे।
विजेताहरुलाई प्रदान गरिने नगद पुरस्कार आगामी शुक्रबार वितरण गरिने आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन सुस्मिता लिम्बू र सन्देश तिम्सिनाले गरेका थिए।

