
धरान–१२, चतरालाईन स्थित सुनाखरी एकेडेमीले प्रथम सुनाखरी कप–२०८२ को विजेता टिम सुनाखरी रेडलाई शुक्रवार विद्यालय प्राङ्गणमा विशेष समारोह मार्फत सम्मान गरेको छ।
स्कुलका निर्देशक प्रदीप राई, प्रिन्सिपल मिलन कुमार राई र प्लस–टुको संयोजक तप कुमार राईले विजेता खेलाडीहरूलाई अबिर र खदा लगाएर सम्मान प्रदान गरे।
विजयी टिमलाई सम्मान गर्नुको उद्देश्य विद्यार्थीहरूलाई आगामी दिनहरूमा पनि उत्कृष्ट प्रदर्शनका लागि हौसला दिनु रहेको प्रिन्सिपल राईले बताए।
मङ्सिर ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर १७ गते एन्फा एकेडेमीको मैदानमा सम्पन्न भएको थियो। सो खेलमा सुनाखरी रेडले नेपाल पुलिस स्कुललाई टाईब्रेकरमा ३–१ गोलले पराजित गर्दै उपाधि हात पारेको थियो।
यसैबीच, सोही अवधिमा सम्पन्न सुनाखरी २.५ किलोमिटर रनिङ प्रतियोगिताका सिनियर तथा जुनियर दुवै समुहका विजेता विद्यार्थीहरूलाई समेत नगद सहितको पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ।

