
धरान समाज युकेले लन्डनमा सडक दुर्घटनामा मृत्यु भएका २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको परिवारलाई आर्थिक सहयोग गरेको छ । समाजले युविनका बुबा विकास तामाङ र आमा शर्मिला मगर तामाङलाई सहयोग स्वरुप ३ हजार ३ सय १० पाउण्ड रिडिङमा हस्तान्तरण गरेको हो ।
धरान समाज युकेको पहलमा सङ्कलन गरिएको सो सहयोग धरान समाज यूकेका अध्यक्ष निकेश लिम्बू र महासचिव वल्लभ गुरुङले हस्तान्तरण गरेका हुन् । अध्यक्ष निकेश लिम्बूले ‘मानवताको नाताले सहयोग गरेको बताए । अध्यक्ष लिम्बूले भने अप्ठ्यारोमा परेका नेपालीकालागि धरान युके समाज सहयोग गर्न सधै तयार छ । समाजले गरेको उक्त सहयोगको नेपाली रुपैयाँ करिब ६ लाख ३५ हजार हुन आउँछ ।
धरान ११, रिटिङ स्थायी घर भएका तामाङको गत १८ अक्टोबरमा कारको ठक्करबाट मृत्यु भएको थियो । बेलायतमा प्रकाशित समाचारहरुकाअनुसरा तामाङ सडकमा हिडिरहेको बेला बीएमडब्लु कारले ठक्कर दिएको थियो । इष्ट लन्डनको इल्फोर्डस्थित रेडब्रिज लेनमा उनलाई र्यापर गेट्सले चलाएको कारले ठक्कर दिएको थियो । उनलाई तुरुन्तै अस्पताल पुरयाइए पनि उपचारका क्रममा उनको निधन भएको थियो ।
दुर्घटनापछि चालक फरार रहेका र्यापर गेट्सलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ ।

