
धरान: सुनसरी जिल्ला स्तरीय अन्तर विद्यालय ‘सुनाखरी एकेडेमी कप’ फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा प्रभात इंग्लिस बोर्डिङ स्कुल र सैनिक आवासीय विद्यालय विजयी भएसँगै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
धरान–१७ स्थित एन्फा मैदानमा भएको तेस्रो दिनको पहिलो खेलमा प्रभात इंग्लिस बोर्डिङ स्कुलले ज्ञानकुञ्ज बोर्डिङ स्कुललाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै शानदार जित भएसँगै क्वाटरफाइनलमा पुगेको छ।
दोस्रो खेलमा सैनिक आवासीय विद्यालयले सुनाखरी ब्लु टिमलाई ट्राइबेकरमा ३–१ ले हराएको छ । निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउट हुन पुगेको हो।
खेलको म्यान अफ द म्याच प्रभात स्कुलका युवाहाङ राई घोषित भए। उनले नगद १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
बुधबार हुने पहिलो खेल सेन्ट जोसेफ स्कुल धरान–१७ र श्री ज्वालामुखी स्कुल धरान–१७, दोस्रो खेल हिमशिखर स्कुल तरहरा र देउराली चिल्ड्रेन स्कुल धरान–५ हुने भएको छ ।
मंसिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाउनेछन्।सेमिफाइनलमा पुग्ने दुई टोलीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उच्च गोलकर्ता र अनुशासित टिमलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा सुनाखरी एकेडेमीका रातो र सेतो टिमसहित हिमशिखर स्कुल तरहरा, सेन्ट जोसेफ स्कुल धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी स्कुल, विजयपुर स्कुल, ज्ञानकुञ्ज विद्यालय, लिबर्टी स्कुल, देउराली बालबालिका विद्यालय, माउन्ट हर्मन स्कुल, सैनिक आवासीय विद्यालय, हिबिस्कस स्कुल, बुद्ध आदर्श विद्यालय, लर्ड बुद्ध स्कुल झुम्का तथा ज्वालामुखी स्कुल पटनाली सहभागी छन्।

