
धरान: नेपाल प्रहरी विद्यालय धरान–सुनसरीले यो वर्ष सातौँ कोशी प्रदेश अन्तर–विद्यालय डिआइजीपी रनिङ फुटबल प्रतियोगिता–२०८२ आयोजना गर्ने भएको छ। विद्यालय तहमै प्रतिभाशाली खेलाडी पहिचान तथा खेलकुदको प्रसार–प्रसारका उद्देश्यसहित ‘खेलकुदमार्फत एकता’ भन्ने मूल नाराका साथ प्रतियोगिता सञ्चालन हुन लागेको आयोजक संस्थाले जनाएको छ ।
विद्यालय स्तरबाटै फुटबलमा करियर बनाउन इच्छुक खेलाडीका लागि उपयुक्त वातावरण निर्माण गर्नु, भविष्यमा राष्ट्रिय टिमका सम्भावित खेलाडी उत्पादनमा टेवा पुर्याउनु र सहभागी विद्यालयबीच सहकार्य तथा खेल–मैत्री संस्कृतिको विकास गर्नु यस प्रतियोगिताको मुख्य लक्ष्य रहेको प्रतियोगिता संयोजक प्रहरी निरीक्षक सुरेश कुमार हायुले जानकारी दिनुभएको छ । उहाँका अनुसार विशेष प्राथामिकता पहाडी क्षेत्रका सामुदायिक विद्यालयलाई दिईने लक्ष्य रहेको बाताउनु भयो।
प्रतियोगिताको सुरुआत २०५८ सालमा भएको हो र पछिल्ला छ संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । सातौँ संस्करणका रूपमा आयोजना हुन लागेको प्रतियोगिता आगामी पौष ९ गतेदेखि १९ गतेसम्म नेपाल प्रहरी प्रदेश कार्यालय, धरानस्थित फुटबल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा कोशी प्रदेशभरिका १६ विद्यालयले मात्र सहभागिता जनाउनेछन् । कक्षा १० सम्म अध्ययनरत, एन्फा वा अन्य कुनै औपचारिक लिग नखेलेका विद्यार्थीहरूलाई मात्र सहभागिता प्रदान गरिनेछ । प्रत्येक टोलीमा वैकल्पिक खेलाडीसहित १४ जना रहने व्यवस्था रहेको छ । आयोजकका अनुसार दर्ता शुल्क रु. ८,हजार तोकिएको छ ।
प्रतियोगितामा विजेत बन्ने टोलीले नगद . ८१ हजार ५ सहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद . ४१, हजार ५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य ट्रफि विजेता टोलीले एक वर्षभित्र आयोजक विद्यालयमा फिर्ता बुझाउनुपर्नेछ । सोको बदलामा विजेता टोलीलाई स्मृति ट्रफि हस्तान्तरण गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले नगद रु. १ हजार ५ र प्रमाणपत्र पाउनेछ । यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्लेयर अफ द टुर्नामेन्ट, फेयर–प्ले टिम तथा अन्य विधागत श्रेणीका उत्कृष्ट खेलाडीहरुले नगद २ हजार ५, ट्रफि, प्रमाणपत्र तथा कक्षा ११ मा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । उत्कृष्ट रिपोर्टर पुरस्कारमा नगद समेत. २ हजार ५ सय ५ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता ‘नकआउट’ अर्थात छानोट–आधारित खेल प्रणालीमा सञ्चालन हुनेछ । प्रत्येक टोलीमा प्रशिक्षक, व्यवस्थापक तथा मेडिकल कर्मचारीसहित १८ जनासम्म रहने व्यवस्था मिलाइएको छ । सामान्य खेलहरूको अवधि ७० मिनेट (३५–३५) रहनेछ भने सेमिफाइनल र फाइनल खेल ८० मिनेट (४०–४०) को हुनेछ । नेपाल प्रहरी विद्यालय धरानले विगतदेखि नै विद्यालयस्तरमा खेलकुद प्रवद्र्धनमा विशेष योगदान दिँदै आएको छ । प्रदेशस्तरीय विद्यालय फुटबल प्रतियोगितामध्ये प्रतिष्ठित मानिने यो प्रतियोगिता यस वर्ष पनि खेलकुद–अनुशासन, प्रतिष्पर्धा, सहकार्य र नेतृत्व–क्षमता अभिवृद्धिको अवसरको रूपमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

