
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्तर्राष्ट्रिय प्याथोलोजी दिवस विविध कार्यक्रमका साथ मनाएको छ। प्रतिष्ठानको प्याथोलोजी विभागको आयोजनामा विश्वभर मनाइने ‘प्याथोलोजी डे’ यस वर्ष पनि उत्साहपूर्वक मनाइएको हो।
कार्यक्रममा बोल्दै प्रतिष्ठानकी प्रवक्ता डा. अञ्जु प्रधानले स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा प्याथोलोजीको महत्वपूर्ण भूमिका रहेको बताइन्। उनले रोगको सही पहिचान र उपचारका लागि प्याथोलोजी अत्यावश्यक विषय भएको उल्लेख गर्दै भनिन्, “प्याथोलोजी विना रोगको निदान सम्भव हुँदैन र चिकित्सकको भूमिका अधुरो रहन्छ।”

त्यसैगरी प्रतिष्ठानको प्याथोलोजी विभाग प्रमुख डा. स्मृति कार्कीले विभागलाई अझ आधुनिक र प्रभावकारी बनाउन आवश्यक रहेको बताइन्। उनले प्याथोलोजी विभाग सधैं विभागीय कार्यक्षमता, सेवा र गुणस्तर सुधारका लागि क्रियाशील रहेको र अनुसन्धानात्मक तथा जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तर अगाडि बढाइरहेको जानकारी दिइन्।
कार्यक्रममा प्याथोलोजी डेको इतिहास, उद्देश्य र यसको महत्वबारे विस्तृत प्रस्तुति पनि गरिएको थियो।

