
धरान: सामाजिक उत्तरदायित्व र समुदायप्रतिको प्रतिबद्धताका साथ सक्रिय रहँदै आएको सचेत नागरिक समूह, धरान–१७ ले यस वर्षको दीपावलीको अवसरमा देउसे कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त देउसे कार्यक्रमबाट संकलित सम्पूर्ण रकम धरानमा हालै सम्पन्न जेन्जी आन्दोलनले ध्वस्त बनाएका भौतिक संरचनाहरूको पुनर्निर्माणमा खर्च गरिने बताइएको छ।
धरान–१७ स्थित रेल्वे चोकमा कार्तिक ५ गते आयोजना गरिने सांस्कृतिक देउसे कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समूहका संयोजक दयाराम थापाले यसबारे जानकारी दिनु भएको हो।
उहाँका अनुसार, संकलित रकम राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको खाता नं. १९६०१००१०२०७०००४ (भौतिक पूर्वाधार पुनर्निर्माण कोष) मा जम्मा गरिनेछ।
यस समूहले यसअघि पनि वि.सं. २०८१ मा देशभरि आएको भीषण बाढीका पीडितहरूको सहयोगार्थ रु. २ लाख ५ हजार रुपैयाँ देउसे कार्यक्रमबाट संकलन गरी सरकारी राहत कोषमा बुझाइसकेको थियो।
कोरोना महामारीको बेला नागरिक स्तरबाट थालिएको यो समूह हालसम्म खाद्यान्न वितरण, लत्ताकपडा सहयोग, होल्डिङ सेन्टर र क्वारेन्टाइन व्यवस्थापनजस्ता कामहरू गर्दै सामाजिक सेवामा सक्रिय रहँदै आएको छ।
सचेत नागरिक समूह धरान–१७ कुनै पनि सरकारी वा गैरसरकारी निकायमा दर्ता नगरिएको भए तापनि, यो समूहले सामाजिक भावना र जिम्मेवारीको बोधसहित नागरिक तहबाट संचालन हुने अभियानहरूमा निरन्तर योगदान दिँदै आएको संयोजक थापाको भनाइ छ।
कार्यक्रममा धरान–१७ वडा कार्यालयको पनि सहकार्य रहने जानकारी दिइएको छ। संयोजक थापाले सम्पूर्ण धरानवासीहरूलाई उक्त देउसे कार्यक्रममा सहभागी भई सामाजिक उत्तरदायित्वमा साथ दिन आग्रह गर्नुभएको छ।