स्वास्थ्य/जिवनशैली

बिपीका चिकित्सकद्वारा गेट बाहिर क्लिनिक सञ्चालन, प्रशासन मौन


धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्णकालीन सेवामा कार्यरत केही चिकित्सकहरूले प्रतिष्ठानको गेट बाहिर निजी क्लिनिक सञ्चालन गर्दै आएको तथ्य बाहिर आएको छ, तर प्रशासनिक निकाय भने मौन रहँदा उक्त गतिविधिले संस्थाको आचारसंहिता नै उल्लङ्घन भएको आरोप लाग्न थालेको छ ।

बिपी प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. रविन मास्के, चिकित्सक डा. रञ्जित दास र डा. अभिनाश राईलगायतका नाम यस प्रकरणमा जोडिएका छन् । विभागीय प्रमुख रहेका मास्केले धरान–१८ बुद्धचोक नजिक रहेको एमसी क्याफे माथिको तल्लामा ’तिरुपती रिसर्च एण्ड डायग्नोस्टिक सेन्टर’ स्थापना गरी करिब एक वर्षदेखि सञ्चालन गर्दै आएका छन्। उनीहरूसँगै प्रतिष्ठानमै कार्यरत अन्य चिकित्सकहरूको पनि सो क्लिनिकमा संलग्नता रहेको स्थानीय स्रोतले जनाएको छ ।

बिपी प्रतिष्ठानमा ड्युटी समयमा उपस्थित हुनुपर्ने चिकित्सकहरू निजी क्लिनिकतर्फ ओहोरदोहोर गर्ने गरेको बिरामी र कर्मचारीहरूले गुनासो गरेका छन् । बिरामीहरूको भनाइअनुसार, बिपीमै उपचारका लागि आएका बिरामीहरूलाई मास्केले निजी क्लिनिकमा बोलाउने गर्छन्। कतिपयले क्लिनिकमा लाइन बस्न नपर्ने भन्दै सोही चिकित्सकको सिफारिसमा ’तिरुपती’ धाउने गरेको खुलासा गरेका छन् ।

बिपी प्रतिष्ठान नियमावली २०५५ ले प्रतिष्ठानका शिक्षक तथा कर्मचारीलाई पूर्णकालीन सेवामा रहने र बाह्य क्षेत्रमा कुनै प्रकारको प्राइभेट प्राक्टिस गर्न नपाउने व्यवस्था गरेको छ । त्यस्तै नेपाल मेडिकल काउन्सिलको कोड अफ इथिक्स एण्ड प्रोफेसनल कन्डक्ट, २०१७ मा पनि कार्यस्थलसँग प्रत्यक्ष प्रतिस्पर्धामा पर्ने क्षेत्रमा निजी अभ्यास गर्न नपाइने स्पष्ट प्रावधान छ। तर प्रतिष्ठानको गेटबाट करिब २ सय मिटरको दूरीमै क्लिनिक सञ्चालन हुनु नै आचारसंहिता उल्लंघनको प्रमाण रहेको विशेषज्ञहरूले जनाएका छन् ।
क्लिनिक सञ्चालनसम्बन्धी कानुनी प्रक्रियामाथि पनि प्रश्न उठाइएको छ। अस्पताल सञ्चालन गर्न भवन ऐनअनुसार अनुमोदित नक्सा, उचाइ, पार्किङ सुविधा र भौतिक पहुँचलगायत मापदण्ड पूरा हुनुपर्ने भए पनि सो क्लिनिक अपांगता अनुकूल पहुँचविहीन र पार्किङ सुविधाविनै सञ्चालन भइरहेको स्थानीयले बताएका छन् । भवनको तल्ला उचाइ न्यून हुनुका साथै बिरामी र कुरुवालाई आवश्यक पर्ने पूर्वाधारसमेत नपुगेको गुनासो आएको छ ।

रामपुरकी भगवती कार्कीले बिपीमा धेरै बेर लाइन बस्नुपर्ने बाध्यताका कारण डा. मास्केकै सल्लाहमा तिरुपती क्लिनिक जान थालेको बताइन् । सुगरका बिरामी राम श्रेष्ठले बीपीमा भेट्न गाह्रो हुने भएकाले क्लिनिकबाट फोन आएपछि सजिलै उपचार पाइने अनुभव बाँडे। आशा लिम्बूले पनि १४ वर्षदेखि फलोअपमा रहेको बताउँदै डाक्टरले नै फोनमार्फत बोलाउने भएकाले क्लिनिक धाउने गरेको खुलासा गरिन् ।

यता, बिपी प्रतिष्ठान प्रशासन भने अनियमितता मौन बस्दै हेरिरहेको आरोप उछालिएको छ। रजिष्ट्रार सूर्य प्रसाद संग्रौलाले प्रतिष्ठानभित्र केही सीमित चिकित्सकले व्यक्तिगत स्वार्थका लागि नियम विपरीत गतिविधि गरिरहेको स्वीकार गरे। उनले भने, ‘सबै डाक्टर त्यस्ता होइनन् तर केहीले प्रतिष्ठानको अनुशासनमाथि आघात पुर्‍याइरहेका छन्। प्रमाणित गर्न कठिन भए पनि स्थितिको जानकारी सबैलाई छ, तर बोल्ने हिम्मत कसैले गर्न सकेको छैन ।’

प्रतिष्ठानलाई शिक्षा, सेवा र अनुसन्धानको केन्द्रका रूपमा चिनाइए पनि यस्ता गतिविधिले संस्थाको प्रतिष्ठामाथि नै प्रश्न उठ्न थालेको स्थानीयवासीको टिप्पणी छ। कानुनी प्रावधान स्पष्ट हुँदाहुँदै पनि कारबाही प्रक्रियामा ढिलाइ भइरहेको भन्दै सर्वसाधारणले चासो जनाएका छन् । प्रतिष्ठान प्रशासनले छानबिन गरी प्रमाणित भयो भने कानुनी कारबाही हुने जनाएको छ, तर यतिबेला सो विषयमा ठोस पहल भने देखिएको छैन ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका