खेलकुद

नेपाल कबड्डी लिगको बढ्दो आकर्षण: सिजन २ को लागि ५ सय १२ नेपाली खेलाडी दर्ता

काठमाडौं: नेपाल कबड्डी लिग (एनकेएल) मा खेलाडीको आकर्षण अत्याधिक बढेको छ । सिजन २ को ड्राफ्टका लागि ५ सय १२ जना नेपाली खेलाडी दर्ता भएको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ ।

एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताए, ‘पहिलो सिजनको ड्राफ्टमा २ सय ७८ जना नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए । दोस्रो सिजनको लागि खोलिएको आवेदनबाट ५ सय १२ स्वदेशी खेलाडी दर्ता भएका छन् । त्यसैले हामीले एनकेएलको क्रेज र खेलाडीको आकर्षण अत्याधिक बृद्धि भएको पाएका छौं ।’

एनकेएल सिजन २ को लागि दर्ता भएका खेलाडीमा बागमती प्रदेशबाट सर्बाधिक १ सय ५५ खेलाडी छन् । त्यस्तै, सुदूरपश्चिमका १ सय ३, लुम्बिनीका ९८, मधेश प्रदेशका ७०, कोशीका ३५, कर्णालीका २७ र गण्डकीका २४ जना छन् । गत वर्ष भएको पहिलो संस्करणमा ६ सहरका ६ टिमले एनकेएलमा प्रतिस्पर्धा गर्न ड्राफ्टमार्फत् ८४ खेलाडी लिएका थिए, जसमा नेपाली खेलाडीको संख्या ६६ थियो ।

‘बिदेशी खेलाडीको आकर्षण पनि अत्याधिक बढेको छ । धेरै देशका खेलाडीले एनकेएल खेल्न चाहेका छन् । हामी दोस्रो सिजनको ड्राफ्टलाई ४०–५० जना बिदेशी खेलाडी लिनेछौं । उनीहरू पक्कैपनि माथिल्लो स्तरका हुनेछन्,’ बेगानीले बताए । पहिलो सिजन थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्या गरी चार देशका १८ खेलाडीले एनकेएलमा आएका थिए ।

नेपाली कबड्डी इतिहासमै फ्रेन्चाइज टोलीको ऐतिहासिक प्रतियोगिताको रुपमा एनकेएलको सिजन १ १७–३१ जनवरी, २०२५ मा भव्यताकासाथ सम्पन्न भएको थियो । प्रेन्चाइजको आधारमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स गरी ६ सहरका ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो । पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेल्न व्यस्त छन् ।
सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गर्ने बताइएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक