
धरान: ठमेलको एक गल्लीमा उभिएको विदेशी पर्यटक प्राकृतिक साबुन खोज्दै थियो । सरकारी जागिरको आशामा काठमाडौं पुगेकी मनिता घिमिरेलाई त्यो दृश्य सामान्य लाग्नुपर्ने हो । तर उनको मनमा भने एउटा ‘साना सीपले पनि ठूलो बाटो खोल्न सक्छ’ भन्ने चाँडै बलियो सोच उम्रियो । यही क्षणबाट उनको जीवनले अनपेक्षित मोड लियो ।
धरान–१५ की मनिता घिमिरे अहिले केवल साबुन उत्पादक मात्रै होइनन्, उनी महिला स्वरोजगारको प्रतीक बन्दै गएकी छन् । ३० हजार रुपैयाँको सानो लगानीबाट सुरु गरेको यात्राले आज पाँच जनालाई प्रत्यक्ष रोजगारी र स्थानीय महिलालाई आत्मनिर्भर बन्ने प्रेरणा दिइरहेको छ ।
वनजंगलमा पाइने तितेपाती, निम, घिउकुमारी र गाँजाजस्ता जडिबुटी धेरैका लागि सामान्य घाँसपात मात्रै हुन् । तर मनिताले यिनै वनस्पतिलाई उत्पादन र आम्दानीको स्रोत बनाइन् ।
उनी भन्छिन्–‘जागिर खोजेर जीवनभर अरूको भर पर्नु भन्दा आफ्नै सीप प्रयोग गरेर अवसर सिर्जना गर्नुपर्छ भन्ने महसुस त्यही दिनबाट भयो । सिकेको सीप कागजमै थमाएर राख्नु हुन्न भन्ने लागेर म गाउँ फर्कें ।’
घरको कोठाबाट सुरु गरेको उद्योगले अहिले बजारसम्मको पहुँच पुगेको छ । ६ वर्षअघि सुरु गरिएको यो उद्यममा सुरुआती लगानी ३० हजार रुपैयाँ थियो । हाल उनले ४ प्रकारका प्राकृतिक नुहाउने साबुन उत्पादन गर्छिन् । उनले उत्पादन गरेको सावुन १५० देखि २१० रुपैयाँ बजारमा मारामार विक्री हुन्छ । अहिले सोचेको भन्दा धेरै अर्डर आउने उनी बताउँछिन् । उनी भन्छिन्, ‘सबैभन्दा ठूलो खुशी के भने—अब म एक्लै काम गर्दै छैन, अरूलाई पनि काम दिन सक्ने अवस्थामा छु ।
धरान–११ की संगीता बाहिङ राई भन्छिन् ‘ म यो सावुन सधै प्रयोग गर्छु छालामा कुनै असर गर्दैन, एलर्जी र साना घाउचोटमा पनि यो साबुनले ओखतीजस्तै काम गर्छ । बजारको केमिकल भएको साबुनभन्दा यसको सुगन्ध र अनुभूति नै फरक हुन्छ ।’
मनिता अहिले उत्पादनमै सीमित छैनन् । उनले उदयपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा र सुनसरीका ग्रामिण बस्तीसम्म पुगेर महिलालाई साबुन बनाउने व्यावहारिक तालिम दिइरहेकी छिन् ।
उनी बताउँछिन्–‘गाउँमै पाइने वनस्पति उपयोग गरेर बनाएको साबुनले विदेशबाट भित्रिने वस्तुको विकल्प दिन सक्छ । यसले पैसा मात्र होइन, आत्मसम्मान पनि दिन्छ ।’
कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले मनिता घिमिरेजस्ता महिलाहरूलाई सुरुआती चरणमै प्रोत्साहन र लगानी पहुँच उपलब्ध गराए, घरभित्रै बसेर हजारौं महिलाले व्यवसाय गरेर स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सक्ने बताइन् ।
कम लागत, सहज सीप र बजारमा बढ्दो मागले प्राकृतिक साबुन उद्योग जस्तो साना उद्यमले ग्रामीण महिलाका हातमा आत्मनिर्भरताको चाबी थमाइरहेको छ । मनिता घिमिरेको उदाहरणले देखाएको छ–‘स्वावलम्बन खोज्ने हिम्मत भए, स्रोत आफ्नै वरिपरि हुन्छ ।’