
धरान: चाडपर्व नजिकिए सँगै उपभोक्तालाई सुरक्षित, गुणस्तरीय र स्वास्थ्यकर खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले धरान उपमहानगरपालिकाले मंगलबार बाट शुरु गरेको बजार अनुगमनलाई बुधबार समेत निरन्तरता दिएको छ ।
धरान उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र इनरुवाको संयुक्त टोलीले बुधबार पनि धरानका विभिन्न स्थानमा बजार अनुगमन जारी राखेको हो । टोलीले धरान–११ स्थित मंगलबारे चोक, धरान–१३ फुस्रे, वडा नं. ६ पानवारी र वडा नं. १५ बगरकोटमा अनुगमन गरेको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरकी वादल चेम्जोङका अनुसार अनुगमनको क्रममा लेबल विना बिक्रीमा रहेका बिस्कुट तथा वेकरी सामग्री फेला परेका छन् । त्यस्तै, केही पसलमा म्याद गुज्रिएका चिसो पेय पदार्थसमेत फेला परेका र ‘पहिलोपटक यस्तो अवस्थामा भेटिएका पसलहरूलाई ती वस्तुहरू अलग्गै राख्न निर्देशन दिइएको छ,’ चेम्जोङले जानकारी दिइन् । लेबलविना वस्तु बेच्ने पसल सञ्चालकहरूलाई सम्बन्धित उद्योग सञ्चालकसहित उपमहानगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको छ ।
बगरकोटस्थित एक सेकुवा पसलमा पकाउने मासुमा फुड कलर प्रयोग गरिँदै आएको पाइएको छ । चेम्जोङका अनुसार पकाउने वा फ्राइ गर्ने खाद्यवस्तुमा रंग हाल्नु स्वास्थ्यको दृष्टिले अत्यन्तै हानिकारक हुन्छ र क्यान्सरसमेत हुन सक्छ । होटलका सञ्चालकलाई सचेत गराइएको छ । उपभोक्ताले समेत यस्तो खानेकुरा नखान सन्देश सबै माध्यमबाट प्रवाह गरिनु आवश्यक छ,’ उनले भनिन् ।
बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले गुनासो र आवश्यकताको आधारमा बजार अनुगमन भइरहेको बताए । उनले भने– ‘दशैंको किनमेलका कारण बजारमा भिडभाड हुन्छ । अनुगमन गर्दा व्यवसायीहरूबाट गुनासो आएको छ, त्यसलाई पनि ध्यानमा राखेर कार्य गरिरहेका छौं ।’