
धरान: संविधान दिवसको अवसरमा धरानमा सर्वपक्षीय समन्वय समितिको आयोजनामा आज भव्य र्याली तथा कोणसभा सम्पन्न भएको छ । धरान–२ स्थित छाताचोकबाट सुरु भएको र्याली ‘संविधानको रक्षा गरौं’ भन्ने नारासहित धरान–२ भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
उक्त र्यालीमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, महिला प्रतिनिधि, विद्यार्थी, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । संविधानको संरक्षण र अराजक गतिविधिको विरोधमा जनस्तरबाट व्यापक समर्थन पाइएकाले कार्यक्रमलाई विशेष महत्व दिइएको बताइएको छ ।
कोणसभामा बोल्दै महेन्द्र क्याम्पसका विद्यार्थी तथा जेनजी आन्दोलनमा सक्रिय भूमिका खेलेका रविन श्रेष्ठले आन्दोलनको नाममा पछिल्लो समयमा धरानमा भएका तोडफोड र आगजनीप्रति गहिरो दुख व्यक्त गर्दै आन्दोलन भदौ २४ गते ४ बजे नै औपचारिक रूपमा टुंगिएको भए पनि त्यसपछि व्यक्तिगत सम्पत्ति तथा सार्वजनिक संरचनामा गरिएको क्षति आन्दोलनको मर्मविपरीत रहेको बताए । भ्रष्टाचारविरुद्ध सुरु गरिएको जेनजी आन्दोलनलाई अराजक तत्वहरूले फाइदा लिएकोे आरोप लगाए।
श्रेष्ठले मेयर हर्कराज राईका श्रमदान कार्यक्रममा सहभागी केही व्यक्तिहरु यस्ता गतिविधिमा संलग्न भएको भन्दै, मेयरले नै यसको जिम्मा लिएर छानबिनका लागि राजीनामा दिनुपर्ने माग समेत गरे ।
कार्यक्रममा धरान महिला सञ्जालकी प्रतिनिधि इन्द्रकला राईले संविधानमा रहेका त्रुटिहरू सुधार गरिनु पर्ने आवश्यकता औंल्याउँदै, बलिदानीपूर्ण ढंगले ल्याइएको संविधानलाई मास्ने प्रयास अस्वीकार्य हुने बताएकी छन ।
यसै क्रममा, सुनसरी उद्योग वाणिज्य संघका सदस्य विष्णु बरालले हालैको अराजक घटनाका कारण धरानको व्यापारिक गतिविधि ठप्प भएको जानकारी दिनुभयो । ‘भाटभाटेनी लगायतका व्यवसायिक संस्थामा आगजनी र तोडफोडका कारण दशैँको पूर्वसन्ध्यामा धरानको व्यापार शून्यजस्तै भएको बताए।
कार्यक्रमको अन्त्यमा जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो भने, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि व्यक्त गरिएको थियो।