
धरान: भदौ २३ गतेको जेन- जीको आन्दोलनमा साहादत भएका युवाहरूको सम्झनामा नेपाल चिकित्सक संघ (एनएमए) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान इकाइले दीप प्रज्वलन गरेको छ ।
कार्यक्रम प्रतिष्ठानको नेपाल चिकित्सक संघको प्राङ्गणमा सम्पन्न भएको हो । जसमा एनएमएका सदस्य चिकित्सकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अध्यक्ष डा. अरुण कुमार सिंहको नेतृत्वमा सम्पन्न कार्यक्रममा सहभागी चिकित्सकहरूले दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे ।
सो अवसरमा अध्यक्ष डा. सिंहले आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरूको साहस र बलिदानको प्रशंसा गर्नुभयो उहाँले आन्दोलनका क्रममा जीवन गुमाउने युवाहरूले ल्याएको प्रेरणाले समाजलाई भ्रष्टाचारविरुद्ध लड्ने, न्याय र समानताको पक्षमा उठ्ने हिम्मत दिएको बताउदै चिकित्सक मात्र नभई सम्पूर्ण पेशागत समुदायले यस्ता बलिदानलाई सम्झनु र सम्मान गर्नुपर्ने बताउनुभयो ।
सचिव डा. दिपेन्द्र मिश्रले शहीदहरूको योगदानले पारदर्शिता र जवाफदेहिताको मार्गमा देशलाई अघि बढाउने स्पष्ट संकेत दिएको उल्लेख गर्नुभयो । दीप प्रज्वलनमार्फत आयोजित सोे श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले शहीदप्रति सम्मान प्रकट गरेका थिए ।

