
धरान: धरान उपमहानगरपालिका–१४ स्थित विजयपुरमा अवस्थित बुढासुब्बा मन्दिर पूजा विधिका हिसाबले नेपालकै विशेष मन्दिर मानिन्छ। यहाँ अरू मठ–मन्दिरभन्दा फरक रूपमा पूजा गरिन्छ भने भविष्यवाणी हेर्ने प्रथा पनि अत्यन्त लोकप्रिय बनेको छ ।
सामान्यतया अन्य मन्दिरमा फूल, अक्षता, दूध वा फलफूल चढाइन्छ, तर बुढासुब्बा मन्दिरमा भने लोकल रक्सी चढाउने, भाले वा पोथी कुखुराको बलि दिने, र भालेको कलेजोबाट जोखना हेर्ने विशेष परम्परा छ। यही कारणले यहाँ दैनिक सयौँ भक्तजनको भीड लाग्ने गरेको छ ।
मन्दिरका मुख्य पूजारी अशोक आले मगरका अनुसार, बलि चढाइसकेपछि भालेको कलेजोबाट जोखना हेरेर भक्तजनको भविष्य बताउने गरिन्छ । कुन घरमा संकट छ, कसरी दशाग्रह पर्न गएको छ वा त्यसको निवारण के हुन सक्छ भन्ने विषयमा पूजारीले जोखना हेरेर जानकारी दिने गर्दछन् ।
“हामी धामीझाँक्री होइनौं, बुढासुब्बा भगवानको प्रत्यक्ष दर्शन र प्रेरणाबाट जोखना देखाउने गर्छौं,“ पूजारी आलेले बताउनुभयो, “जोखनाले भक्तजनको समस्या देखाएर त्यसको समाधानको उपाय पनि बताइन्छ ।
बुढासुब्बा र गौरेनी माताको दर्शन गर्न नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत भक्तजन आउने गर्दछन्। भाकल गरेर रक्सी, भाले, पोथी वा अण्डा चढाउने प्रथा यहाँ निकै पुरानो छ । प्रचलनअनुसार, बुढासुब्बालाई भाले र गौरेनी मातालाई पोथी कुखुरा चढाइन्छ । पोथी नभएको अवस्थामा अण्डा पनि चढाउने गरिएको छ ।
दैनिक २०० भन्दा बढी बलि चढाइने मन्दिरमा करिब ५० प्रतिशत भक्तजनले जोखना पनि हेर्ने गरेको पूजारीहरूले बताएका छन् । ‘भक्तजनको विश्वास यति बढेको छ कि कहिलेकाहीँ जोखना हेर्नसमेत समय पुग्दैन,’ पूजारी आले मगरले भन्नुभयो ।
२१औँ शताब्दीमा आधुनिकताले जीवनको हरेक क्षेत्र बदलिरहँदा पनि मानिसको भविष्यप्रतिको चासो भने उस्तै छ । कोही ज्योतिषकहाँ चिना देखाउन जान्छन् भने कोही मन्दिरमा जोखना हेर्न पुग्छन् । बुढासुब्बा मन्दिरमा हुने यो जोखना हेर्ने परम्परा भने अद्वितीय र धार्मिक आस्थाले भरिएको देखिन्छ ।