
धरान: न्यून सरकारी सहयोगको बाबजुद पनि विभिन्न व्यक्तित्वहरूको सहयोगमा सञ्चालन हुँदै आएको धरानस्थित सरस्वती बाल आश्रमले यस वर्षको ६१औं राष्ट्रिय बाल दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।
आश्रमले बालबालिाको वृत्ति विकासका लागि प्रत्येक बर्ष आयोजना गर्दै आएको बालदिवस, यस बर्ष पनि भदौ २९ गर्ते आयोजना गरेको छ भने सोही दिन वार्षिक साधारण सभाको ३९औं संस्करणको समापन कार्यक्रमका रूपमा आयोजना गर्नेे भएको हो ।
बाल आश्रमकी अध्यक्ष रुक्मणि मास्केका अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विभिन्न रचनात्मक तथा चेतनामूलक गतिविधिहरू समावेश गरिएको छ । कार्यक्रमको उद्घाटन स्वरुप भदौ १९ गते पत्रकार सम्मेलन आयोजना गरेर साताव्यापी कार्यक्रमको बारेमा जानकारी दिइएको हो ।
आश्रमकी द्वितीय उपाध्यक्ष एवम् कार्यक्रमकी संयोज शान्त अधिकारीका अनुसार भदौ २० गते वडा नं. ३ स्तरीय बाल क्लब नृत्य प्रतियोगिता, भदौ २१ गते आन्तरिक खेलकुद तथा भ्रमण कार्यक्रम, भदौ २५ गते नगर स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता, भदौ २७ गते बाल स्वास्थ्य परीक्षण र भदौ २९ गते बिहान प्रभातफेरी, दिउँसो साधारण सभा तथा बाल दिवस समापन समारोह आयोजना गरिनेछ ।
अध्यक्ष मास्केले प्रत्येक प्रतियोगितामा सहभागी हुने विजयीहरूलाई प्रथम र द्वितीय पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।
यस वर्षको सप्ताहव्यापी कार्यक्रमका लागि झण्डै १ लाख ७५ हजार रुपैयाँको आय–व्यय बजेट तयार गरिएको संयोजक अधिकारीले जानकारी दिनुभयो । बाल अधिकार, स्वास्थ्य, सिर्जनात्मकता र सहभागितामूलक शिक्षालाई प्रोत्साहन गर्न आश्रमले विगतदेखि गर्दै आएको यस्तो कार्यक्रम समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास आयोजकहरूको रहेको छ ।