
धरान: कुनै पनि जातिको भाषा र सँस्कृति र पहिरन त्यो जातिको पहिचान हो । आधुनिक रहनसहन र पश्चिमी सँस्कृतिले युवा पुस्तालाई गाँज्दै गएको बेला नेपालमा बसोबास गर्ने विभिन्न जातिका जातीय भाषा, सँस्कृति र पहिरन पनि हराउदै गएका छन् तर धरानमा भने नेवारी समुदायले भने आफ्ना जातिका अग्रजहरुबाट युवा पुस्तालाई तालिम र प्रशिक्षण दिँदै नेवारी भाषा, सँस्कृति र पहिरनलाई प्राथामिकता दिने अभियानमा जुटेको छ । यसमा स्थानीय सरकारले समेत साथ दिएको छ । स्थानीय सरकारले तीनदिने चन्द्रपुर जात्राको आयोजना गरेर ऐतिहासिक कामको शुरुवात गरेको छ ।
धरान उपमहानगरपालिका वडा न.३ चन्द्रपुर बजार राणाकालीन समयका चन्द्र शमशेरले बसाएको धरानका अग्रजहरु बताउँछन् । यस वडामा विभिन्न जातिको बसोबास भएपनि नेवारी जातिको बसोबास बढी भएको पाइएको छ । हरेक जातजातिको भाषा, सँस्कृति र पहिरन नेपालकै सम्पत्तिको रुपमा लिँदै स्थानीय सरकार धरान उपमहानगरपालिका ३ नं. वडा कार्यालयकै अगुवाईमा तीनदिने चन्द्रपुर जात्राको आयोजना गरिएको छ । कार्यक्रम सम्पन्न गर्न नेवाः देय दबुका केन्द्रीय उपाध्यक्ष अनिल मास्केको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको छ । यसैअनुरुप तीनदिनसम्म धिमेबाजा प्रतियोगिता, वृहत लाखे नाच प्रदर्शनसँगै अन्तिम दिन साँस्कृतिक झाँकीसहितको कृष्ण रथयात्रा आयोजनासँगै समापन गरिनेछ । सोही अनुरुप पहिलो दिन शुक्रबार नेवारीहरुको साँस्कृतिक बाजा धिमेबाजा प्रतियोगिताको आयोजना गरिएको थियो । प्रशिक्षणपश्चात तयारी पारिएका नेवार जातिका आठ वटा समूहलाई प्रतिष्पर्धामा उत्र्याइएको थियो । पुस्ताहस्तान्तरसँगै चन्द्रपुरको ऐतिहासिकलाई उजागर गर्न पनि कार्यक्रमको आयोजना गरिएको ३ नं. वडाका वडासदस्य मिङ्मा भोटेले जानकारी दिए । उनले नेवारी जातिको जात्रा भएपनि सबै जातिको उत्तिकै सहभागिताले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

विगतमा नेवार जातिको जात्रा हेर्नको लागि धरान ३ चन्द्रपुर बजारमा नै आउनुपर्ने अवस्था आएपनि यो विस्तारै लोप हुदै गएको अवस्थामा यसलाई पुन:जीवित गर्ने कामले नामेट इतिहास व्युताउने प्रयास भएको धरान ३ का पूर्व वडासदस्य एवम् पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताए ।
नेवार युवाहरुलाई प्रशिक्षण दिँदै सँस्कृति पुस्तान्तरण गर्ने प्रयाससँगै चन्द्रपुरको इतिहासलाई व्युताउने काम गरेको प्रति कोशी पदेशकी सांसद यसोदा कायस्थले समेत प्रशंसा गरिन । ३ न. बासीको सहयोगमा वडाले गरेको प्रयासलाई सह्रानीय मान्दै प्रदेश सरकारले समेत यो तीनदिने जात्राको लागि केही बजेट छुट्याएको बताइन् । उनले धरान ३ नं. वडा कार्यालय, तीन दिने कार्यक्रम सम्पन्न गर्ने समिति तथा वडाबासीहरुलाई चन्द्रपुर बजारको ऐतिहासिकता उजगार गर्ने काममा अगाडि बढेकोमा धन्यवाद दिइन् ।

सो अवसरमा धरान ३ निवासी सँस्कृतिविद्, समाजसेवी कृष्णप्रसाद श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । साउन ३० देखि शुरु भएको यो जात्रा भदौ १ गतेसम्म चल्ने छ । तीनदिने चन्द्रपुर जात्राको गाईजात्रालाई नेवारी समुदायको युवा पुस्तासम्म पुर्याउने, जात्रालाई संस्थागत गरेर लाने र वडामा रहेका अन्य जातिको पनि साँस्कृतिक पर्वलाई उजागार गदै जाने उद्देश्यले आयोजना गरिएको जात्राको मुख्य भूमिका नै स्थानीय सरकार भएकोले पनि यसलाई सबैले महत्वका साथ हेरेका छन ।