
धरान: यस बर्षको बोलबम मेलामा पिण्डेश्वर बाबाधाम समितिले ज्येष्ठ नागरिक, अशक्त तथा महिलाहरुलाई सहज ढंगबाट जल चढाउने तथा पूजाआजा गर्ने व्यवस्था गरिएकोप्रति लक्षित वर्गले सहजता महसुस गरेका छन् । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा विगतका बर्षहरुमा यस्तो सहजता नहुदा यस्ता वर्गका भक्तजनहरुले सास्ती भोग्नु परेको थियो ।
झापाका पदम खड्काले यस बर्षको अन्तिम बोलबममा पिण्डेश्वर मन्दिरमा भेटिनुभयो । सुनसरीको सप्तकोशीको जल ल्याएर चढाउन आउनु भएका खड्काले यस बर्ष गत बर्षको जस्तो झन्झट व्यहोर्नु परेन । उहाँले लक्षित वर्गले मात्र हैन सहज रुपमा सबैले जल चढाउने वातावरण मिलाइदिन समितिलाई उहाँले आग्रह गर्नुभयो ।
झापाका खड्कामात्र हैन मोरङका नवराज सुवेदीले समेत ज्येष्ठ नागरिकका लागि छुट्टै लाइनको व्यवस्था गरेर सहज रुपमा जल चढाउने वातावरण तयार गरेकोप्रति पिण्डेश्वर बाबाधाम समितिलाई धन्यवाद दिनुभयो ।
त्यस्तै महिलाहरुले समेत सहज ढंगबाट जल चढाउन पाएकोमा खुशी व्यक्त गरेका थिए विराटनगरकी कौशिला पोख्रेलले सहज रुपमा जल चढाएको र सबैलाई आर्शिवाद समेत दिन भ्याउनुभयो ।
यी र यस्ता धेरै भक्तजहरुले यस बर्ष पिण्डेश्वर मन्दिरमा सहज रुपमा जल चढाउन पाएका छन् । यसले गर्दा उनीहरुले सहजता महसुस गरेका छन् । बोलबम अवधिभर सबै भक्तजनहरुका लागि सहज होस् भन्ने अभिप्रायले समितिले सामान सुरक्षितसँग राख्न लकरको व्यवस्था, शान्ति सुरक्षाको लागि जनपथ प्रहरी, सशस्त्र प्रहरी लगायत भक्तजनहरुका लागि सुविधाका लागि स्वयम् सेवक परिचालन गरिएको थियो । यतिमात्र हैन चौथो अर्थात अन्तिम सोमबारसम्म विभिन्न संघ संस्थाले निःशुल्क स्वास्थ्य उपचार, पानीको व्यवस्था, खाजाको व्यवस्था गरेर भक्तजनहरुलाई सेवा प्रदान गरेका थिए ।
भक्तजनहरुको सुविधाका लागि आफूहरुले सक्त सहयोग गरेको हिडौ धरान अभियानका अभियन्ताहरुले बताएका छन् । लाइनमा सहजता, खानेपानी, खाजा नास्ता लगायतका कुरामा पहिलो सोमबारबाट नै सहयोग गर्दै आएको उनीहरुले बताएका छन् ।
यस बर्ष विगतका बर्षहरुभन्दा भक्तजनहरु बढी पिण्डेश्वर मन्दिरमा जल चढाउन तथा पूजाआजाका लागि आएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताउनुभयो । उहाँले धरानका विभिन्न संघ संस्थाले निःशुल्क स्वास्थ्य शिविरसँगै विभिन्न सहयोग पुर्याउदै आएकोले यस बर्षको बोलबम अत्यन्तै सहजढंगले सम्पन्न भएको बताउनुभयो ।
यस बर्ष कति भक्तजनले पिण्डेश्वर मन्दिरमा जल चढाए भन्ने तथ्यांक नभए पनि नेपालका पूर्वदेखि पश्चिमसम्मका भक्तजनमात्र हैन भारतबाट समेत उल्लेख्य रुपमा यस बर्ष भक्तजनहरु पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ । घाम, पानीको वेवास्ता गर्दै धर्मप्रति आस्थावान बृद्ध, बृद्धामात्र हैन युवा पुस्ताको जमात पनि उत्तिकै आएको समितिले जनाएको छ । रुदाक्षरण्य क्षेत्र पिण्डेश्वर मन्दिरको महत्व दिनप्रतिदिन बढ्दै गएको यसले पुष्टि गरेको समितिले मुल्यांकन गर्दै आगामी बर्षमा भक्तजनहरुको सेवा सुविधालाई थप गदै जाने जनाएको छ ।

