
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बेला बेलाम चर्चामा आउँछन् अथवा चर्चामा आइरहने उनको चाहना नै हो । स्वतन्त्र उमेद्वारबाट निर्वाचित भएदेखि नै उनको चर्चा राम्रो वा नराम्रो दुवै पक्षबाट चर्चा चुलिदै आएको छ ।
पछिल्लो पटक फेरि मेयर साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धरान १ छाताचौकमा रहेको बीपीको जग्गा फिर्तामा प्रयोग गरेको शब्द उनकै फेसबुक पेज ‘हर्क साम्पाङ ए रेभुलेसन’मा पोष्ट गरेसँगै धरानमा पत्रको चर्चामात्र हैन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले त्यो पत्रको जवाफ नै दिएका छन।
धरानका मेयर हर्क सम्पाङले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एउटा महत्वपुर्ण बिषय पत्र पठाएका थिए । मेयर साम्पाङले फेसबुक पेज हर्क साम्पाङ ए रेभुलेसनबाट सार्वजनिक गरेको उक्त पत्रको बिषय भन्दा पनि त्यहाँ उल्लेख भएको शब्दको बढी चर्चा भयो ।
प्रतिष्ठानका सहप्रवक्ता डा.अभिजित कुमारद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रतिष्ठानको ऐन २०४९ सालमा प्रतिनिधिसभाबाट पारित भएर स्थापना भएको र तत्कालिन श्री ५ को सरकारले २०४८ माघ ४ गते निर्णय गरेर साविक धरान बजारस्थित अस्पतालले चर्चेको १ बिघा ४ कट्ठा १३.१ धुर जग्गा प्रतिष्ठानको नाममा नामसारी गर्ने निर्णय भएको उल्लेख गरिएको छ । । यी सबै प्रक्रिया हुन प्रतिष्ठानको कार्यकारिणी समिति तथा सञ्चालक परिषदसमेतको निर्णय प्रक्रिया भएर जानुपर्ने र सञ्चालक परिषद सदस्यमा तत्कालिन धरान नगरपालिका हाल धरान उपमहानगरपालिकाका प्रमुख सदस्य रहने व्यवस्था रहेको पनि विज्ञप्तीमा उनले उल्लेख गरेका छन् ।
मेयर राईले पठाएको पत्रमा धरानमा नगर अस्पताल बनाउने चर्चा चुलिएको बेला धरान १ छाताचोकको जग्गा बीपीले हडपेको भन्दै पत्र पठाएको र त्यो जग्गा धरान उपमहानगरपालिकालाई नै फिर्ता गर्नुृपर्ने उल्लेख गरेका छन् ।
उनले अशिष्ट भाषा प्रयोग गर्दै पत्रमा भनेका छन् ‘पुरानो अस्पतालको जग्गा कुन चाहि कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिई पठाएछ थाह भएन, यसरी नगरपालिकाको जग्गा लान पाइदैन । प्लिज फिर्ता गरिदिनु होला’ भन्ने उल्लेख गरेका छन् । पदीय मर्यादालाई विर्सिएर पत्रमा प्रयोग गरिएको‘कुलङ्घार’ शब्दका कारण मेयर अहिले सर्वत्र आलोचनाको पात्र बनेका छन् ।
विगतमा धरान अस्पतालको नाममा भएको जग्गा नेपाल सरकारले धरान अस्पतालको नाममा रहेको उक्त जग्गा २०७४ कार्तिक ११ गते वीपी प्रतिष्ठानको नाममा दर्ता कायम गरि पुर्जा दिएको स्थानीय अग्रजहरु बताउछन् । अहिले उक्त स्थानम धरान नगरपालिकाको बोर्ड समेत राखिएको छ । उनले आरोप लगाएको धरानको पुरानो अस्पतालको जग्गा बीपीले सुटुक्कै लगेका कारण नगर अस्पताल बनाउन समस्या भएको कुरा उल्लेख गरेसँगै प्रतिष्ठानले विज्ञप्ती प्रकाशित गरेर त्यसको जवाफ दिएको हो । उनले आफ्नै फेसबुक पेजमा स्वास्थ्यमन्त्रीलाई सम्बोधन गरी लेखेको स्टाटसमा ‘स्वास्थ्यमन्त्री ज्यु, हाम्रो अस्पताल बिपीले हडपेको छ, धरान उपमहानगरपालिकालाई दिने कि नदिने ? मैले अस्पताल बनाउन र चलाउन बजेट राख्नु कि नराख्नु यस्पाली ?’भनेर प्रश्न गरेका छन् । प्रत्युत्तरमा प्रतिष्ठनले सार्वजनिक गरेको विज्ञप्तीमा विगतमा पुरानो अस्पतालबाट ओपिडी सञ्चालन गरेको तर धरानबासीको चाहना अनुरुप प्रतिष्ठानबाटै सेवा लिने चाहना प्रकट गरेपछि त्यहाँको ओपिडी बन्द गरेर प्रतिष्ठानबाट ओपिडीलगायत अन्य सेवा सञ्चालन गरेको उल्लेख गरिएको छ ।