विचार

दलबहादुर छायाँ दोस्रो स्मृति दिवश

भिमज्वाला राई

धरान: पूर्वका पहाडी जिल्लाहरुका लाहुरेहरु छुट्टीमा घर आउने पल्टन फर्कदा बासबस्ने ठाउँ हो धरानको देशीलाइन । त्यही देशीलाइनमा २००३ साल मंसिर २ गते जन्मनु भएका नेपालकै कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्ति हुन् दलबहादुर छायाँ भुजेल ।
आमा श्रीकुमारी भुजेल र बुबा पहलमान भुजेलका ५ छोरीहरुपछि एक्लो कान्छा छोराका रुपमा किसान परिवारमा उहाँको जन्म भएको थियो । धनकुटा जिल्ला पुख्र्यौली भएपनि बुबा पहलमान परिवार सहित १९९० अघिनै धरान झरेपछि वहाँको परिवार कृषि पेशामा आस्रित थियो । दलबहादुर छायाँ पनि कृषिकर्ममै समर्पित हुनुहुन्थ्यो ।

शिक्षा र चेतनाको बिजारोपन:
विद्यालय थिएन, पढ्नका लागि भारतबाट आएका शिक्षकहरुले गाउँटोलका युवाहरु बटुलेर पढाउने गर्दथे । दिउँसोको समय खेती, किसानी र गृहस्थीको काममा लाग्नु पर्ने भएकाले रातीको फुर्सदको समयमा पढाई हुने गर्दथ्यो त्यसलाई त्यतिबेला नाइट स्कुल भनिन्थ्यो कमरेड दलबहादुर छायाँको प्रारम्भिक शिक्षा पनि त्यसरी नै सुरु भएको थियो ।
वहाँले पनि टोलका साथीभाइहरुसंगै भारतिय नागरिक जागेश्वर झा लगायतका शिक्षकहरुबाट शिक्षा ग्रहण गर्नुभयो । वहाँले उमेरको १९ वर्षपछि मात्रै नाइट शिक्षा लिन थाल्नु भएको बुझिएको छ जबकी त्यस समय वहाँको विवाह भइसकेको थियो ।
नाइट शिक्षा लिनु अगावै वहाँ कम्युनिष्टहरुको संगतका कारण माक्र्सवादी शिक्षाबाट भने दिक्षित भइसक्नुभएको बुझिन्छ । वहाँमा परिवर्तनप्रतिको हुटहुटी, समाजका लागि नयाँ केही गरौँ भन्ने भावना माक्र्सवादी विचारले रुपान्तरण ल्याइसकेको थियो । त्यही भएर वहाँले त्यही समयदेखि नै आफ्नो नामपछि थर लेख्नु भएन “छायाँ” लेख्नुभयो ।
उच्च शिक्षाका लागि धनकुटा क्याम्पस पढ्न सुरु गर्दा र बि ए पास गरिसक्दा वहाँ पार्टी कमिटी तथा त्यस समयका नेताहरु र पूर्वक्षेत्रकै प्रखर क्रान्तिकारी नेता भइसक्नु भएको थियो ।
माक्र्सवादी नेताहरु मनमोहन अधिकारी, भरतमोहन अधिकारी, बलराम उपाध्याय, जनार्दन आचार्य, बिएकृष्ण श्रेष्ठ, भीमराज मास्के, छबिलाल लम्साल, नेत्रबन्धु पौडेल, हिरा रिजाल, कृष्ण पाख्रिन, हरुसंगको वहाँ निरन्तर पार्टीकाममा जोडिनु भएको हाल नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य नारायण कार्की बताउनुहुन्छ ।

राजनीतिक चेत र पार्टीमा संलग्नता:
सानै उमेरदेखि कम्युनिष्ट राजनीतिमा आकर्षित हुनुभएकाले वहाँमा समाजमा हुने अन्याय, अत्याचार सहन गर्ननसक्ने क्रान्तिकारी भावको विकास भइसकेको थियो । २०१७ साल आसपासमै वहाँ पूर्व कोशी प्रान्तिय कमिटीसंग निकट रहेर भूमिगत काममा संलग्नहुनुभयो । २०२२ सालमा पार्टीको सदस्यता प्राप्त गर्नुभएपछि झन वहाँको सक्रियता बढ्यो । वहाँ निडर र हक्की स्वभावका कारण हरेका आन्दोलनको कमाण्ड गर्नुभयो । त्यही समय (२०२२ साल) मा डिआइजी नारायण सिंह काण्ड काठमाण्डौंको राष्ट्रिय नाचघरमा भएपछि त्यसको विरुद्ध देशका विभिन्न भागमा आन्दोलनहरु भए अन्यन्त्र आन्दोलनमा प्रहरी दमनका कारण मुर्झाइरहेकोबेला धरानमा आन्दोलन उग्र बन्यो त्यस आन्दोलनको नेतृत्व पनि दलबहादुर छायाँ, जनार्दन आचार्य, यज्ञप्रसाद आचार्य, चिनीमाया श्रेष्ठले गर्नुभयो । त्यस समय जनताले लखेट्दा एकजना प्रहरी इन्सपेक्टर र दुइजना प्रहरीको रसियन जीप पल्टीएर मृत्यु भएको कथा समेत नारायण कार्कीले स्मरण गर्नुभयो ।

बन्दी जीवन र यातना:
झापा विद्रोहपछि पञ्चायती सरकारले कम्युनिष्टहरुलाई खोजीखोजी गिरफ्तार गर्ने, जेल हाल्ने, जेल सार्ने नाममा हत्या गर्ने काम तिब्र पारेका थिए । त्यही समय २०२९ साल फागुन २१ गते सुखानी जंगलमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठ ५ जनालाई हत्या गरेको थियो । मंसिर पुसदेखि नै पञ्चायती सरकारले झापा, मोरङ, सुनसरी र धनकुटालाई निशाना बनाएको थियो अन्य कमरेडहरुसंगै कमरेड दलबहादुर छायाँ पनि गिरफ्तारी पर्नुभयो । वहाँको राजनीतिक जीवनमा वहाँ पटक पटक गिरफ्तारी पर्नुभयो । प्रहरीको यातना खेप्नुभयो । ७ पटक सम्म गिरफ्तारीमा पर्नुभयो जेल जीवन विताउनुभयो । संकटपूर्ण अवस्थामा पार्टी कामलाई निरन्तरता दिनुभयो । अविचल रुपमा कम्युनिष्ट आन्दोलनलाई अगुवाई गर्नु भयो ।

शिक्षण, दलु सर र आन्दोलन :
कमरेड दलबहादुर छायाँ २०३० सालदेखि शिक्षण पेशामा संलग्न हुनुभयो । त्यसबेला प्राय सबै विद्यालयको नाम पञ्चायत राखिएको हुन्थ्यो । वहाँले पढाउनु पर्ने धरानको ३ नम्बरको विद्यालय परेको थियो । विद्यालय छुट्याउने भनेको नम्बरले हुन्थ्यो । त्यही नम्बरका आधारमा आफु फलाना स्कुलको भनिन्थ्यो ।
काम शिक्षण भएपनि वहाँको पेशा राजनीति थियो । राजनीति वहाँ रगत, नशा र चेतनामा भएकाले वहाँले स्कुलमै पनि त्यही काम गर्नुहुन्थ्यो । त्यो काम पञ्चायत सरकारलाई मन परेन । शिक्षक भएर कम्युनिष्ट पार्टीको काम गरेको आरोपमा वहाँलाई सरकारले कारबाही स्वरुप टाढाको स्कुलमा सरुवा गर्दै खोटाङ पठायो । पछि पुनः सरुवा भएर धरान आउनुभयो जीवनको अन्तिम समयसम्म शिक्षण पेशामै रहनुभयो । वहाँले पछिल्लो समय अध्यापन गर्नुभएको स्कुल धरान ८ स्थित शहिद स्मृति मावि हो वहाँ निवृत हुनुभएपछि वहाँको बिँडो थाम्दै वहाँका कान्छा छोरा विकास भुजेलले शिक्षण गरिरहनुभएको छ ।
वहाँ सम्मानित व्यक्तित्व वहाँ शिक्षण पेशामा रहँदाकै समयदेखि नै लबहादुर छायाँलाई सबैले सम्मानका साथ “दलु सर” भनेर बोलाउथे । दलुसर सबैले स्नेहकासाथ उच्चारण गर्दथे, प्रकारान्तरमा वहाँ बुढापाका, युवा, केटाकेटी सबैकाबिच दलु सरकारुपमा स्थापित हुनुभयो । वहाँ शिक्षक संगठनको सुनसरी जिल्ला अध्यक्ष हुँदै शिक्षक आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनुभयो । शिक्षक संगठनको केन्द्रीय कमिटीमा काम गर्दै कोशी अञ्चलको ईन्चार्ज बनेर तत्कालिन अवस्थामा अञ्चलभरीकै शिक्षक आन्दोलनको कुशल अगुवाई गर्नुभयो । कम्युनिष्ट योद्धा वहाँ विद्यार्थीका नेता पनि हुनुहुन्थ्यो । वहाँ क्याम्पसमा विद्यार्थीका नेता हुनुहुन्थ्यो । तर वहाँ क्याम्पस पढ्न होइन विद्यार्थी आन्दोलन हाक्न पार्टीले खटाएका कारण जानुहुन्थ्यो । २०२४ सालमा संगठन कमजोर रहेको बेलामा पार्टी हेडक्वाटरले वहाँलाई महेन्द्र बहुमुखि क्याम्पस धरानको विद्यार्थी राजनीति हाक्न पठाइएको थियो । त्यस समय वहाँ पार्टी धरानको एरिया सचिव हुनुहुन्थ्यो । वहाँ स्ववियु सचिव पनि बन्नुभयो । क्याम्पसमा संगठनलाई बलियो बनाउनुभयो । विद्यार्थी, शिक्षक, र पार्टीका विभिन्न कमिटीमा रहेर वहाँले कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गर्नुभयो । वहाँका आन्दोलन अनुभवका कथाहरु अहिलेका पुस्तालाई दन्त्य कथा जस्तो लाग्नसक्छ ।
वहाँ कम्युनिष्ट पार्टीका नेता त हुँदै हो, वहाँ शिक्षकका नेता, विद्यार्थीका नेता र मजदुरका पनि नेताका रुपमा भूमिका निर्वाह गर्नुभयो ।

पद भन्दा काममा विश्वास गर्ने दलुसर:
वहाँ नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद् सदस्यसम्म बन्नुभयो । तर, पार्टी र आन्दोलन संकटमा पर्दा हरेक मोर्चामा सहजै काम गर्न तयार रहनुभयो ।
वहाँ पूर्व कोशी प्रान्तिय कमिटी धरान एरिया कमिटीको २०२३ सालमा सदस्य २०२४ सालमा धरान एरिया कमिटीको सचिव (तत्कालिन अवस्थामा पार्टी प्रमुख) भइसक्नुभएको थियो । २०३० सालमा कम्युनिष्ट पार्टीको सुनसरी जिल्ला कमिटीको सदस्य बन्नुभयो ।
स्मरणीय के छ भने वहाँले पार्टी धरानको नेतृत्व गरेको ३४ वर्ष पछि उस्तै जिम्मेवारीमा नेकपा (एमाले) धरान नगर कमिटीको सचिवका रुपमा २०५७ सालमा पार्टीको नेतृत्व गर्नुभयो । वहाँले म पार्टीको पुरानो नेता, मसंगै काम गरेका कमरेडहरु पार्टी केन्द्रीय कमिटीको अगुवाई गरिसक्नु भयो, पदाधिकारि तथा सदस्य बनिसक्नु भयो मलाई कहाँ पार्टी नगरमा प्रस्ताव गर्नु भएको भनेर बढप्पन देखाउनु भएन पार्टी र नेता, कार्यकर्ताहरुको आग्रहलाई स्विकार्नुभयो ।
बरु वहाँकै नेतृत्व कालमा पार्टीभीत्र उत्पन्न अन्तरद्धन्द्धहरु समाधान भयो । नेकपा (एमाले) धरान नगर कमिटी आफ्नै भवनमा उभियो, धराने एमाले नेता कार्यकर्ताहरुले गर्वकासाथ हाम्रो पार्टीको आफ्नै भवन छ भन्ने बनाईदिनुभयो ।
दलुसर भन्नुहुन्थ्यो, कम्युनिष्ट वीर, विरङगनाहरुले आफ्ना व्यक्तिगत जीवनलाई तिलान्जली दिएर देश र जनताको मुक्तिका लागि हाँसीहाँसी ज्यान अर्पण गरेर पार्टी तथा आन्दोलनलाई बलियो बनाए । वर्षौ जेलनेल सहेर आन्दोलन हाँके । त्यो त्यागलाई हामीले भूल्नुहुदैन ।
पार्टी र आन्दोलनका लागि आफुलाई समर्पण गर्नुभएका दलुसर २०५४ सालमा बामदेव गौतमले र २०७८ सालमा माधव नेपालले पार्टी फुटाउँदा भने सारै विछिप्त बन्नुभएको थियो । विभिन्न रोगबाट थलिनुभएका दलुसरलाई पार्टी स्थापनाको हिरक महोत्सवको अवसरमा नेकपा (एमाले) ले विशेष सम्मानसम्म ग्रहण गर्न भ्याउनुभयो । हामीलाई अझै वहाँको अभिभावकत्व जरुरी हुँदाहुँदै आफु जन्मिएकै घर धरान देशीलाइनमा २०८० साल साउन ७ गते आजकैदिन वहाँ सदाका लागि विदा हुनुभयो ।

वहाँको पारिवारिक जीवन:
खोटाङ लामिडाँडा निवासी निरु भूजेलसंग २०२२ सालमा चतराको मन्दिर हाल औलियाबाबाको मन्दिरमा वैवाहिक जीवन सुरु गर्नु भएका दलुसरको देहान्त भएकै साल २०८० माघ ९ गते वहाँकी जीवनसंगीनी निरु भुजेलको पनि निधन भइसकेकोछ । हाल वहाँहरुका २ छोरा १ छोरी, ४ नाति, ३ नातिनी, १ पनाति रहेकाछन् ।
जेठा छोरा रबि भूजेल र बुहारी उर्मिला भूजेल कान्छा छोरा विकास भूजेल र बुहारी ममता कार्की र छोरी सृजना भुजेल र ज्वाईँ प्रेमकुमार भुजेल रहनुभएको छ ।
दलुसरका नातिहरु रौनक भूजेल, प्रशान्त भूजेल, विभिएन भूजेल, विमर्श भूजेल त्यस्तै नातिनीहरु प्रशन्ता भूजेल, रेशिका भूजेल, मनस्वी छायाँ भूजेल, नातिनी ज्वाईँ प्रशन्ता भूजेल र विवस भूजेल र पनाति, विशान्त भूजेल रहनुभएको छ ।

यस्तो हुनुहुन्थ्यो दलुसर:
वहाँलाई चिन्ने सबैले भन्नुहुन्छ वहाँ सान्त सागर जस्तै हुनुहुन्थ्यो । नारायाण कार्कीका अनुसार स्वभावमा नरम, बोलीमा मिठासयुक्त गहकिलो आवाज, भद्र, शालीन तर अन्याको विरोधी हुनुहुन्थ्यो । वहाँ सादा जीवन उच्च विचारको हुनुहुन्थ्यो । वहाँले उछृङ्खल बोलेको कहिल्यै सुनेनौँ ।
हामी अलिक सानै थियौँ हामीलाई बाल गडरिया भन्नुहुन्थ्यो हामी रातीराती क्लास भइरहेको बेला बैठक हुँदा लुकीलुकी खानेकुराहरु पुर्याउँथ्यौँ, हाल सदन स्कुलको पछाडीका जंगलमा हुन्थ्यो त्यस्ता क्लासहरु हामी दलबहादुर दाइहरुबाट नै दिक्षित भएकाहौँ । २०२५ सालका एसएलसी तयारीका हामीलाई वहाँले नै कोचिङ पढाउनु भएको हो संगै हाम्रा कम्युनिष्ट गुरुपनि दाइ नै हो ।

र अन्त्यमा:
सबैका दलुसर भएपनि म सुरुदेखिनै दाइ सम्बोधन गर्थेँ । दाइ बिरामी हुनुहन्छ भनेदेखिनै कम्युनिष्ट आन्दोलनमा दाइको योगदानलाई दस्तावेजीकरण गर्नुपर्छ भन्ने मलाई सुरुदेखिनै लागेको हो । तर, मेरो जिम्मेवारी र धरान बसाइको रामछायाले सम्भव भएन जतिबेला दाइसंग गफिन खोजेको थिएँ त्योबेला दाइ सिकिस्त हुनुहन्थ्यो दाइ वित्नुभयो हामी धराने बाम आन्दोलनमा समर्पितहरुले धेरैकुरा गुमायौँ ।
साउन ३ गते दलु छायाँ स्मृति ग्रन्थ प्रकाशन समितिका संयोजक नारायण सुवेदी र नेकपा (एमाले) धरान २ नम्बर वडा कमिटी उपसचिव कृष्ण ठाकुरसंग दाइको घर पुगेका थियौं । छोराहरु रवि र विकाससंग कुराकानी भयो । वहाँहरुलाई थाहा भएका कुराहरु भयो बाँकी दाइका डायरी, लेख रचना र अन्य दस्तावेजहरुको खोजी गर्ने सल्लाह भएको छ ।
वहाँहरुको सल्लाह र केही अनुभव र कुराकानीमा आधारित रहेर दाइका बारे एउटा लेखोट तयार गरिएको छ । यो पर्याप्त छैन यसलाई पूर्णता दिइनेछ । दाइका नोट, डायरी र अन्य दस्तावेजहरु फेला परेपनि दाइसंगको संवाद जतिको तथ्यपरक दस्तावेज बन्न त सक्दैन संगै वहाँका दौँतरी, सहयोद्धाहरु, संगै पाटीमा काम गरेका केही स्रोत व्यक्तिहरुको नाम समेत संकलन गरेरकोछु दाइका बााकी योगदानहरु वहाँहरुसंगको सम्वादपछि पूर्ण गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
दाइको दोस्रो स्मृति दिवसका सन्दर्भमा श्रद्धासुमन अर्पण गर्दछु । धन्यवाद ।
(लेखक राई, नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख हुन्)

छुटाउनुभयो कि ?

विचार

छैठ पुजा समाबेसी बन्दै

छैठ पर्व नेपालको तराई क्षेत्रमा मदेशी समुदायले मनाउदै आएता पनि विगत केही वर्षदेखि पहाडी समुदायका सम्पूर्ण जातिहरुले समावेशी पर्वको रुपमा
विचार

यसपालीको साकेलामा भएन किरात प्रदेशको चर्चा

धरानको सप्तरङगी पार्कमा किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितीको आयोजनामा शनिवार किरात राईहरुको महान पर्व उभौली साकेला सिली भव्यताका साथ