
धरान: साउन महिना, भगवान शिवको प्रिय महिना त्यसमा पनि प्रिय बार सोमबार । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर साउन महिनाभरि मन्दिर बोलबममय हुने गरेको छ । यसैबीच धरानमा पहिलो साउनको पहिलो सोमबार विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा बोलबम भक्तजनहरुको भीड रहेको छ ।
धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा आजबाट विधिवत रुपमा बोलबम शुरु भएको छ । विहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विधिवत रुपमा जल अभिषेक गरी बोलबम शुरु गरेर उद्घाटन गरेसँगै आज पहिलो सोमबार पहेलो गेरु वस्त्रधारी भक्तजनहरुले सुनसरीको चतरामा रहेको सप्तकोशीबाट जल चढाउने भक्तजनहरुको भीड अत्याधिक रहेको थियो । त्यहाँ आएका बृद्ध बृद्धा, युवा पुस्ता सबै धर्मप्रति आस्थावान देखिन्थे । विहानैदेखि लाइनमा बसेर जल चढाउन आतुर बोलबम भक्तजनहरुमध्ये् कोही पहिलो पटक जल चढाउन आएका थिए भने कोही बर्षौदे्खि निरन्तर जल चढाउन आएका थिए । यसरी जल चढाउन आएकाहरुले साउन महिनामा सप्तकोशी नदीबाट जल ल्याएर खाली खुट्टा हिडेर धरानको पिण्डेश्वर मन्दिरमा चढाउदा मनोकांक्षा पूरा हुने विश्वास लिएका थिए ।
यसरी आउने भक्तजनहरु नेपाल लगायत भारतबाट समेत आएका थिए । २०३९ सालमा धरानका बुद्धिजीविहरुले साप्तकोशीको जल ल्याएर पिण्डेश्वर मन्दिरमा चढाउने परम्पराको शुरुवात गरेसँगै यसको संस्थापक विकास भने २०४३/२०४४ सालदेखि मानिएका धरानका अग्रज, बुद्धिजीविहरुका भनाई छ । पौराणिक कथा अनुसार देवता र दानव मिली समुद्र मन्थन गर्दा निस्किएको अमृतले भरिएको घडालाई दानवहरूबाट जोगाई यस स्थानमा ल्याई पु¥याएर शिवलिङ्गको रूपमा स्थापना गरेको भन्ने पुराण एवं धर्मशास्त्रमा व्याख्या गरिएको र यस मन्दिरमा अमृतपिण्ड पिण्डेश्वरका रूपमा भगवान शंकरको पूजा अर्चना गरिने प्रचलन छ । यही मान्यता अनुरुप बर्षेनी भक्तजनहरुको आगमनमा वृद्धि हुदै गएको धरान १४ का शिक्षाविद्, समाजसेवी प्रा.डा. राजेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
भक्तजनहरुको सुविधाका लागि लाइन व्यवस्थापनमा स्वयम सेवक, सुरक्षा व्यवस्थापनका लागि सशस्त्र प्रहरी र जनपथ प्रहरी, ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक कार्यालय सुनसरीका ट्राफिक प्रहरीहरु, निःशुल्क स्वास्थ्य प्रदान गर्ने अभिप्रायले विभिन्न स्वास्थ्यसम्बन्धी संस्था तथा धरान १४ वडा समितिले सञ्चालन गरेको आधारभूत स्वास्थ्य केन्द्र तथा भक्तजनहरुलाई निःशुल्क खानेपानीको व्यवस्था, निःशुल्क खाजाको व्यवस्था लगायतका कुराहरुमा समेत यस बर्ष पनि व्यवस्थित ढंगबाट सञ्चालन गरिएको छ ।

यस बर्ष यी बाहेक अर्को सुविधा भक्तजनहरुलाई थप गरिएको छ । यस बर्षदेखि विगतमा चोरीका घट्नालाई मध्यनजर गरी पिण्डेश्वर बाबाधाम समितिले सामानको सुरक्षाको लागि लक्करको व्यवस्था गरिएको छ । अहिले २४ वटा सामान राख्ने लक्कर व्यवस्थापन गरिएको र आवश्यकता परे अझै थप्ने पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले जानकारी दिनुभयो ।
रुदाक्षरण्य क्षेत्रको रुपमा विभिन्न पुराण तथा ग्रन्थहरुमा समेत उल्लेख भएको धरान १४ पिण्डेश्वर मन्दिरको महिमाको व्यापाक प्रचार प्रसार भएकै कारण बर्षेनी यहाँ भक्तजनहरुको भीड बढ्दै गएको छ । यस बर्ष पनि १० लाख भन्दा बढी भक्तजनहरुले चतराको कोशीबाट जल ल्याएर धरान १४ विजयपुरमा जल चढाउने अनुमान पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ । बोलबमको महिमा चुलिदै गएका कारण भक्तजनहरुको आगमनमा पनि बृद्धि हुदै जाँदा धरान १४ विजयपुरलाई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने स्थानीय सरकार धरान उपमहानगरपालिकाको योजनाले पनि सार्थकता पाउदै गएको आभाष पाइन्छ ।