
धरान: धरान उपमहानगरपालिका वडा नं. ३ मा रहेको पालिका तरकारी बजारको दुईवटा पसलमा आगलागी भएको छ । आइतबार विहान करिब ३ बजेको समयमा भएको आगलागीमा दुई वटा फलफुल पसलमा आगलागी हुदा ७ लाख भन्दा बढी क्षति भएको अनुमान गरिएको छ ।
धरान उपमहानगरपालिका वडा नं. ३ मा रहेको पालिका तरकारी बजारका दुई वटा फलफूल पसलमा आगलागी भएको हो । आइतबार विहान करिब ३ बजेको समयमा भएको आगलागीबाट बमकुमारी श्रेष्ठ र भिमबहादुर श्रेष्ठले सञ्चालन गरेको फलफूल फसल र कोठा पूर्ण रुपमा क्षति भएको भानुसब्जी तथा फलफूल व्यवसायी समितिकी अध्यक्ष रमा चौहानले जानकारी दिनुभयो । आगलागी नियन्त्रण धरान उपमहानगरपालिकाको दमकलबाट समयमै गरिएको बताउदै आगलागी नियन्त्रण समयमै भएकोले अन्य पसलमा थप क्षति नपुगेको बताउनुभयो । रातभरि परेको अविरल बर्षाका कारण जीर्ण रहेको छानाबाट पानी चुहिँदा विजुलीको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट पसलमा राखिएका फलफूल पूर्ण रुपमा नष्ट भएको आगलागी पीडितहरुले बताएका छन् ।
यस भन्दा अगाडि पनि सोही स्थानमा एउटा कस्मेटिक पसलमा आगलागी भएको थियो । धरान उपमहानगरपालिकाले सञ्चालन गरेको बजारमा भएका टहरामा जीर्ण रहेको छाना कारण भएको हो । केही समय अगाडि कस्मेटिक पसलमा आगलागी हुदाको अवस्था पनि सोही भएपछि केही स्थानमा पनि दरिलो छानासहितको टहरा निर्माण भएपनि २५ प्रतिशत टहरा उस्तै जीर्ण रहेका छन् । यस विषयमा धरान उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विद्या शाक्यले विगतमा पनि यस्तै घट्ना हुदा केही टहरा निर्माण भएको र अब फेरि यस्तो अवस्था आउन नदिन निर्माणका लागि धरान उपमहानगरलाई जानकारी गराएर अगाडि बढ्ने बताउनुभयो । पटक पटक आगलागीका घट्ना घट्दा समेत धरान उपमहानगरपालिकाले जीर्ण टहरा निर्माणमा ध्यान दिन सकेको छैन । थप क्षति हुन नदिन समयमै जीर्ण छानाको मर्मतसँगै दीर्घकालीन सोचका साथ टहरा निर्माणको लागि बजारका व्यवसायीहरुले भानुसब्जी तथा फलफूल व्यवसायी संघ र स्थानीय सरकार धरान उपमहानगरपालिकालाई समक्ष माग गरेका छन् ।