
धरान: नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि धरान उपमहानगरपालिकाका मेयर स्व. तारा सुब्बालाई सबैले विकासप्रेमी मेयरका रुपमा लिएका छन् । विहीबार स्व. सुब्बाको सातौ स्मृति दिवसका अवसरमा हरियाली सामुदायिक भवनमा आयोजित शोक सभामा बोल्ने अधिकांशले स्व सुब्बालाई विकासप्रेमी नेताको रुपमा चित्रित गरेका हुन् ।
सो अवसरमा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले विकास प्रेमी स्व. तारा सुब्बाको निधनले धरानले ठूलो क्षति व्यहोरेको बताउनुभयो । उहाँले नेकपा एमाले पार्टीले त अझ मूल खम्बा नै गुमाउनु परेको भन्दै दुःख व्यक्त गर्नुभयो । मिलनसार, पार्टीप्रति बफादार, कुसल संगठनकर्तासँगै विकासप्रेमी नेताहरुका रुपमा चित्रित स्व. सुब्बाले अंगीकार गरेको विकासप्रेमी सोेचको अनुशरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
स्व. सुब्बाका समकक्षी एवम् कोशी प्रदेशका पूर्व एवम् संघीय संरचनापश्चात बनेको प्रदेश सरकारका प्रथम सभामुख प्रदीपकुमार भण्डारी भावविहल बन्दै पार्टीमा कुशल संगठनकर्ता, मिलनसारमात्र हैन विकासप्रेमी व्यक्तित्वको रुपमा लिएको बताउनुभयो । उहाँले थोरै समय धरान उपमहानगरपालिकाको मेयर बन्न सफल हुनु भएका स्व. सुब्बाले धरानको विकास निर्माणमा लिएको भिजन भिजन अब आउने नेतृत्वले पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमालेका कार्यकर्ताँले मात्र हैन अन्य पार्टीका कार्यकर्ताहरुले समेत स्व. ताराको आदर्शलाई अंगालेर जानुपर्नेमा जोड दिएका थिए । जनता समाजवादी नेपालका धरान अध्यक्ष ताजुव लिम्बुले तारा सुब्बा धरानको मेयर रहुन्जेल धरानको विकास लगायत शान्ति सुरक्षा लगायतका अन्य गतिविधि राम्रै चलेको बताउदै उहाँको निधनपछि धरानले विकासको मोडल बनाउन नसकेको, धरानको समग्र विकासमा असर परेको लगायतका बताउदै स्व. सुब्बाले देखाएको बाटो, उहाँले गर्नुभएको नेतृत्वबाट पाठ सिक्दै धरानको विकासलाई गतिशिल बनाउने समाजलाई जोड्दै अगाडि बढ्ने काममा अब धरानेहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा स्व. सुब्बाको शालिक अनवरण, शिलालेख उद्वाटन र तस्विरमा माल्यार्पण अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । स्व. सुब्बा २०७४ साल असार भएको निर्वाचनमा भारी मतले विजयी बन्नुभएको थियो । मृगौलाबाट पीडित रहनु भएका स्व. सुब्बाको मेयर भएको ३ सय ७२ दिन अर्थात २०७५ साउन १ गते काठमाण्डौंको ग्राण्डी अस्पताल उपचारकै क्रममा निधन भएको थियो ।
तेह्रथुम जिल्लाको को खाम्लालुङ ८ स्थित बुबा उजिरसिंह हुक्पा चोङ्बाङ र आमा फूलमाया हुक्पा चोङ्बाङका ४ छोरा र ३ छोरीमध्ये कान्छा छोराको रुपमा जन्मनु भएका स्व. सुब्बा २०३७ सालमा अनेरास्ववियुको सदस्य बनेपछि राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँ २०४७ सालमा युवा संघको नेताका रुपमा स्थापित हुदै धरान नगर कमिटी अध्यक्ष, सुनसरी जिल्ला संयोजक हुँदै दुई पटक जिल्ला अध्यक्ष, दुई पटक केन्द्रीय सदस्य समेत रहुनभयो । स्व. सुब्बा २०५१ सालमा नेकपा एमालेको सरकारमा खेलकुद विकास समिति सुनसरीको सचिव, २०५४ सालको स्थानिय निर्वाचनमा धरान १७ बाट वडा सदस्य निर्वाचित हुँदै जिल्ला विकास समिति सुनसरीमा इलाका नम्बर २ बाट जिविस सदस्य समेत रही सफल कार्यभार सम्मालिसक्नु भएको थियो।