
धरान: कोशी प्रदेश फुटबल संघले आफ्नो आगामी आर्थिक बर्ष २०८२/०८३ को अनुमानित नीति तथा बजेट सार्वजनिक गरेको छ ।
धरान १७ एन्फा टेक्निकल सेन्टरस्थित संघको कार्यालयमा शनिबार एन्फा रेफ्री कोर्ष क्याटोगरी ४ प्रशिक्षणको उद्घाटन समारोहमा अनुमानित बजेट पनि सार्वजनिक गरिएको थियो । समारोहका प्रमुख अतिथि एवं कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई र आयोजक संघका अध्यक्ष किसोर राईले नीति तथा बजेट कार्यक्रम सार्वजनिक गरेका थिए ।
संघको आगामी बर्षको बजेट कुल ३ करोड ३० लाख ५० हजा बराबरको रहेको छ । संघले सार्वजनिक गरेको कार्यक्रम तथा प्रतियोगितामा प्याब्सन एन्फा विद्यालय प्रतियोगिता, (जिल्ला र प्रदेश), हिसान एन्फा कलेज स्तरीय प्रतियोगिता (जिल्ला र प्रदेश), जिल्ला लिग फुटबल प्रतियोगिता (११ जिल्लाहरुमा ए र बि डिभिजन) अण्डर १५ एन्फा एकेडेमी राष्ट्रिय स्तरीय प्रतियोगिता, अण्डर १९ युथ एन्फा प्रदेश क्लब स्तरीय फुटबल प्रतियोगिता, कोशी प्रदेश प्रिमियर लिग, जिल्ला प्रेसिडेन्ट महिला फुटबल प्रतियोगिता, प्रदेश प्रेसिडेन्ट महिला फुटबल प्रतियोगितालाई समावेश गरिएको छ । यी प्रतियोगिताहरुको लागि कुल २ करोड ६३ लाख बजेट अनुमान गरिएको छ ।
यस्तै, प्रशिक्षण कार्यक्रम तथा सम्मान अभिनन्दनतर्फ विभिन्न कोचिङ लाइसेन्स कोर्ष, रेफ्री प्रशिक्षण कार्यक्रम, फिजियो, म्याचकमिसनर तालिम र सम्मान तथा पुरस्कार कार्यक्रमहरुको लागि कुल ४४ लाख बजेट अनुमान गरिएको छ । यस्तै, प्रशासनिक बार्षिक खर्चतर्फ २३ लाख ५० हजार बजेट अनुमान गरिएको छ ।